काडमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औं सम्मेलन (कोप–२८) बिहीबारदेखि दुबईमा सुरु भएको छ ।
सम्मेलन यही मंसिर २६ गतेसम्म चल्ने छ । मानव इतिहासमा सबैभन्दा तातो वर्षको रूपमा रेकर्ड गरिएको र जलवायु सङ्कटको प्रभावले विश्वभरि मानव जीवन र जीविकोपार्जनमा अभूतपूर्व विनाश ल्याएको समयमा यो सम्मेलन हुँदैछ ।
जलवायु सम्मेलन जलवायु प्रतिवद्धतामा कार्य गर्न र जलवायु परिवर्तनको नराम्रो प्रभावलाई रोक्नका लागि एक निर्णायक क्षण मानिन्छ । कोप–२८ को अध्यक्षता युएईले गरेको छ । सम्मेलनका लागि एक सय ६० भन्दा बढी मुलुकका नेता दुबईमा सहभागी हुँदैछन् ।
सम्मेलनले तापमान वृद्धिलाई १ दशमलव ५ डिग्री सेल्सियसमा सीमित गर्ने र सन् २०५० सम्ममा हरित ग्यास खुद शून्य उत्सर्जन हासिल गर्ने उपायमा सहमति गरेर जलवायु सङ्कटलाई सम्बोधन गर्ने लक्ष्य राखेको छ । सम्मेलनमा विश्वभरका मुलुकका प्रतिनिधि, व्यापारीक नेता, युवा, जलवायु वैज्ञानिक, आदिवासी जनजाति, पत्रकार, विभिन्न विज्ञ, सरोकारवालासहित ७० हजारभन्दा बढीको उपस्थितिको अपेक्षा गरिएको छ ।
नेपालका तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल सम्मेलनमा सहभागी हुँदैहुनुहुन्छ । दाहाल नेतृत्वको टोली गएराति प्रस्थान गरेको हो । प्रधानमन्त्री दाहालले मंसीर १६ गते शनिबार सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । सम्मेलनका क्रममा उहाँले द्वीपक्षीय भेट वार्ताहरु पनि गर्नुहुने छ ।
प्रधानमन्त्री दाहाल मंसिर १७ गते स्वदेश फर्किने तालिका छ ।









प्रतिक्रिया दिनुहोस्