१४ असार २०८२, शनिबार | Sat Jun 28 2025


प्रसाईंको समुहले आज तीनकुनेमा प्रदर्शन गर्दै : प्रशासन भन्छ, अनुमति छैन


1.053k
Shares

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समुहले आज पनि राजधानीमा प्रदर्शन गर्दैछ ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियानका संयोजक दुर्गा प्रसाईंको समुहले शुक्रबारबाट तीनकुनेमा प्रदर्शन गर्ने बताएका छन् ।

पहिलो दिन बिहीबार बल्खुमा शक्ति प्रदर्शन गरेका प्रसाईं आजबाट तीनकुने केन्द्रित हुने भएका हुन् ।

बिहीबार बल्खुमा आयोजित कोणसभालाई सम्बोधन गर्दै प्रसाइले आजको प्रदर्शन तीनकुनेमा केन्द्रित हुने र आवश्यक परे सिंहदरवार घेर्ने चेतावनी दिएका छन् ।

वर्तमान राजनीतिक व्यवस्था परिवर्तन नभएसम्म आफ्नो आन्दोलन नरोकिने उनको भनाइ छ ।

प्रसाइँको समुहले हिजो बल्खुमा गरेको कार्यक्रममा प्रहरीसँग पटक पटक झडप भएको थियो । त्यस क्रममा केही सवारी साधन तोडफोड हुनुका साथै दुवैतर्फ गरी २८ जना घाइते भएका थिए ।

प्रसाईको समुहले हिजो बल्खुमा प्रदर्शन गरिरहँदा एमालेको युवा संघले तिनकुनेमा प्रदर्शन गरेको थियो ।

संघिय लोकतान्त्रिक व्यवस्थाविरुद्ध अराजक प्रदर्शन बढ्दा पनि सरकार मुकदर्शक बनेपछि सडकमा उत्रनुपरेको युवा संघको भनाइ छ ।

यता जिल्ला प्रशासन कार्यालय काठमाडौँले भने दुर्गा प्रसाईँलाई तीनकुनेमा कार्यक्रम गर्नका लागि अनुमति नदिएको जनाएको छ ।

कार्यालयसँग कुनै समन्वय नगरी शान्ति सुरक्षा तथा अमनचयन बिथोल्ने गरी कार्यक्रम सार्वजनिक गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै कार्यालयले तीनकुनेमा कार्यक्रम गर्न अनुमति नदिइएको जनाएको छ ।