
काठमाडौं । सरकारले नेपाली नागरिकलाई इजरायलमा कुनै पनि प्रकारको भ्रमण नगर्न आग्रह गरेको छ ।
गत शनिबार प्योस्टाइनी आतंककारी संगठन हमासले इजरायलमा एक्कासी आक्रमण गरेपछि दुबै देशबीच युद्ध चर्केको छ । इजरायलको अवस्था अझै सामान्य नभएकाले भ्रमण नगर्न सरकारले आग्रह गरेको हो । मंगलबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै परराष्ट्रमन्त्री एनपी साउदले कुनै पनि संस्थागत, राजनीतिक वा व्यक्तिगत भ्रमण नगर्न नेपालीलाई आग्रह गर्नुभयो ।
उहाँले इजरायलमा रहेका नेपालीहरुको अवस्थाबारे समितिलाई जानकारी समेत गराउनुभयो । उहाँले १० जना नेपालीको हमासले गरेको आक्रमणमा परी मृत्यु भएको जानकारी पनि समितिलाई दिनुभयो । शवहरु, बंकरबाट सुरक्षित स्थानमा सारिएको र नेपाल आउन इच्छुक अन्य नेपालीहरुलाई सुरक्षित रुपमा नेपाल ल्याउने तयारी भइरहेको उहाँले बताउनुभयो । नेपाल फर्किन इच्छुकका लागि अनलाइन रजिष्ट्रेसनको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।
मन्त्री साउदले सो द्वन्द्वको चपेटामा परेका सबै नेपालीहरुको उद्धार गरिएको पनि समितिलाई जानकारी गराउनु भयो । उहाँले इजरायलमा रहेका नेपालीहरुको वास्तविक स्थितिको पहिचान गर्न, नेपालीहरुलाई सुरक्षित तवरले रहने प्रवन्ध गर्न, उद्धार तथा सहयोग गर्नका लागि इजरायल सरकारसँग आवश्यक समन्वय र सहजीकरण भइरहेको र त्यस काममा नेपाली राजदुतावासहरुलाई सक्रिय रुपमा परिचालन गरिएको पनि बताउनु भयो ।
त्यसैगरी सो द्वन्द्वमा परी घाइते भएका ४ जना नेपालीको उपचार स्थानीय अस्पतालमा भइरहेको र १ जनासँग अहिले पनि सम्पर्क स्थापित हुन नसकेको सरकारले जनाएको छ । मन्त्री साउदका अनुसार इजरायलको दक्षिण क्षेत्रको तुलनात्मक रुपमा जोखिमयुक्त क्षेत्रमा बंकर भित्र आश्रय लिइराखेका सुदूरपश्चिम विश्वविद्यालयका ३२ जना र कृषि तथा वन विज्ञान विश्वविद्यालयका २३ जना गरी ५५ जनालाई हिजो (सोमवार) इजरायल सरकारको सहयोगमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्