Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


९२ प्रतिशत श्रमिक सीप तथा तालिम बिना वैदेशिक रोजगारीमा गइरहेका छन् : श्रमसचिव भण्डारी


156
Shares

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले यो वर्ष वैदेशिक रोजगारीमा गएका ९२ प्रतिशत श्रमिक सिप तथा तालिम नभएकाहरु गएको बताउनुभएको छ ।

शुक्रबार नेपाल उद्योग परिसंघले आयोजना गरेको श्रमिक सीप विकासमा नीतिगत व्यवस्था विषयक छलफल कार्यक्रममा बोल्दै सचिव भण्डारीले यस्तो बताउनुभएको हो ।

उहाँले नेपालको कानूनले वैदेशिक रोजगारीमा जानको लागि सीप र तालिम अनिवार्य आवश्यक भनेको बताउनुभयो । उहाँले कानूनी व्यवस्था भएपनि नेपालबाट वैदेशीक रोजगारीमा जानेहरु मध्ये ९२ प्रतिशत श्रमिक सीप विना विदेश गइरहेको बताउनु भयो । उहाँले पछिल्लो वर्ष वैदेशिक रोजगारीमा गएका साढे ३ लाख नेपालीहरु मध्ये ९२ प्रतिशत तालिम बिना गएको उल्लेख गर्नुभयो ।

सचिव भण्डारीले तालिम र सिपको सर्टिपिकेट आवश्यक पर्ने भएकाले तालिम बिनाको सर्टिपिकेट बोकेर विदेश जाने गरेको बताउनु भयो । उहाँले सीप बिना वैदेशिक रोजगारीमा जाने गरेकाले नेपालमा आएर सामान्य सुनचाँदी बनाउने भारतीय कालीगढहरुले गर्ने आम्दानी भन्दा पनि कम रहेको बताउनु भयो । उहाँले नेपालमा सीप विकासको लागि तालिम दिने भनेर सबै मन्त्रालय र संस्थाहरुले गरिरहेको भन्दै अब सरकारले शिक्षा र श्रम मन्त्रालयलाई श्रमिक र एडभान्स तालिम सिटिभिटीलाई मात्रै दिएर अन्य सबै बन्द गर्न आवश्यक रहेको बताउनुभयो ।

त्यस्तै,राष्ट्रिय योजना आयोगका सचिव डा.तोयनारायण ज्ञवालीले योजना आयोगले १६ औं योजनाको मस्यौदा तयार गर्दा श्रम बजारका विषयमा फरक रुपमा तयारी रहेको बताउनु भयो। उहाँले राष्ट्रिय योजनाहरु केही फरक ढङ्गले बनाएर मुलुकमा नै रोगगारी वृद्धि गर्ने र सिप विकास गर्ने योजना बनाउने तयारी रहेको बताउनुभयो । उहाँले नेपाली श्रमबजारमा सिप विकास गर्ने तालिमलाई व्यवस्थित र शिक्षाको कोषमा समेत राख्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रम उद्योगी व्यवसायीहरुले नेपाली श्रम बजारमा दक्ष र तालिम प्राप्त श्रमिकको ठूलो अभाव रहेको बताए । उनीहरुले सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई पनि सीप तथा तालिमको व्यवस्था गरी नेपालमा नै रोजगारी सिर्जना गर्न पहल गर्नु माग गर्दै दक्ष श्रमिक नहुँदा उद्योगबाट उत्पादन समेत कम हुुँदै गएको बताए । उनीहरुले नेपाली श्रमिकहरु विभिन्न संगठनको नाम आन्दोलन हडताल गर्ने भएकाले विदेशी श्रमको माग बढी भइरहेको बताए ।