
काठमाडौं । यस वर्षको मनराम एसकाज पत्रकारिता पुरस्कार संखुवासभाका पत्रकार भोलानाथ गौलीलाई प्रदान गरिएको छ ।
काठमाडौंमा संखुवासभा–काठमाडौं जर्नालिष्ट एशोसियसन (एसकाज)ले आयोजना गरेको कार्यक्रममा पूर्वराज्यमन्त्री एंव संघीय सांसद दीपक खड्काले पुरस्कार प्रदान गर्नुभयो ।
२०५० सालदेखि एक दशक राष्ट्रिय समाचार समितिमा रहेर काम गरेका ८६ वर्षिय गौली अहिले पनि लेखनकर्ममा हुनुहुन्छ । पत्रकारिताको माध्यमबाट उहाँले गरेको योगदानको कदर स्वरुप उहाँलाई ५० हजार राशीको पुरस्कार प्रदान गरिएको हो ।
संखुवासभाका समाजसेवी मनमाया श्रेष्ठ र दिवंगत रामबहादुर श्रेष्ठको नाममा खोलिएको मनराम प्रतिष्ठान र संखुवासभा–काठमाडौं जर्नालिस्ट एसोसिएसन (एसकाज)ले प्रत्येक वर्ष यो पुरस्कार प्रदान गर्दै आएको छ ।
कार्यक्रममा सांसद खड्काले समाजमा आशा जगाइराख्नका लागि आफ्नो कर्ममा क्रियाशील हुने व्यक्तिहरुलाई सम्मान र कदर गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले पत्रकारिता सजिलो पेशा नभएको भन्दै समाजको मार्गदर्शकको रुपमा पत्रकारजगतको भूमिका स्मरण गर्नुभयो ।
सांसद खड्काले पत्रकार समाजको ऐना भएको भन्दै गौलीले पत्रकारिता मार्फत पु¥याउनु भएको योगदानको प्रशंसा गर्नुभयो । पुरस्कृत पत्रकार गौलीले विगतमा पत्रकारिता गर्दाका दुःख र समाचार प्रकाशित भएपछि दिने आत्मसन्तुष्टिबारे अनुभव सुनाउनुभयो ।
मनराम प्रतिष्ठानका अध्यक्ष सुजनकुमार श्रेष्ठले पुरस्कारले संखुवासभा जिल्लाका सञ्चारकर्मीलाई पत्रकारिताको माध्यमबाट कलम चलाउन थप उर्जा दिएको भन्दै चुनौतिपूर्ण पेशाको सबैले सम्मान गर्नु पर्ने पनि बताउनुभयो । संखुवासभा–काठमाडौं पत्रकार समाजका अध्यक्ष शंकर खनालले पुरस्कारले संखुवासभाका पत्रकारलाई कलम चलाउन थप हौसला दिएको बताउनुभयो ।
पुरस्कृत गौलीले संखुवासभामा रहेर सामाजिक, आर्थिक, पर्यटकीय र विकासका मुद्दाहरुलाई माध्यमबाट प्रष्फुटीत गर्दे आउनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्