काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राष्ट्रसेवक कर्मचारी वा सुरक्षाकर्मीलाई कर्तव्य पालनामा बाधा नपुर्याउन र सामाजिक सञ्जालमा जथाभावी वक्तव्यबाजी नगर्न अनुरोध गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी खड्गबहादुर श्रेष्ठले साेमबार प्रेस विज्ञप्ति जारी गरी सुरक्षाकर्मीलाई कर्तव्य पालनामा बाधा नपुर्याउन र सामाजिक सञ्जालमा जथाभावी वक्तव्यबाजी नगर्न आग्रह गर्नुभएको हो ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन साहकी पत्नी चढेको सरकारी नम्बर प्लेटको गाडी शनिबार राति कोटेश्वरमा ट्राफिक प्रहरीको चेकिङमा परेको थियो । चालकसँग सवारी पास नभएकाले अबदेखि सवारी पास बोकेर हिंड्नू भन्दै ट्राफिक प्रहरीले छाडिदिएका थिए ।
श्रीमती चढेको गाडीलाई केरकार गरेको भन्दै आक्रोशित भएका बालेनले काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई समेत फोन गरेर आक्रोश पोख्नु भएकाे थियाे । लगत्तै उहाँले सिंहदरबारमा आगो लगाइदिने भन्दै धम्कीपूर्ण स्टाटस सामाजिक सञ्जालमा राख्नु भएकाे थियाे ।
सञ्चारमाध्यम र सामाजिक सञ्जालमा बालेनको धम्कीको चर्को आलोचना भएपछि आइतबार बालेनको सचिवालयले विज्ञप्ति जारी गर्दै चेकिङको नाममा सुरक्षाकर्मीबाट अभद्र व्यवहार भएको आरोप लगाउनु भएकाे थियाे ।









प्रतिक्रिया दिनुहोस्