
काठमाडौं, भदौ २१ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले कीर्ते कागजात खडा गरी रु ७० करोड बराबरको सम्पत्ति ठगी गर्ने ८ जनालाई पक्राउ गरेको छ ।
ब्यूरोले टोलीले चुनदेवी बस्ने भारतीय नागरिक राम नीरन्जन जटियाको नाममा रहेको शंकर इलेक्ट्रिक इन्डष्ट्रिज प्रालिको नक्कली कागजात बनाइ ठगी गर्ने मकवानपुरका राजनप्रसाद लम्साल, काठमाडौंका नीरजकुमार मानन्धर, हिमाल महर्जन, राजकुमार तामाङ, चिरीबाबु महर्जन, रामेछापका जीतबहादुर मगर, मोरङका पूण्यप्रसाद खरेल र बाराका अमृत थापामगरलाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो ।
ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक सानुराम भट्टराईले जीतबहादुर मगरलगायत व्यक्तिले शंकर इलेक्ट्रिक इन्डष्ट्रिज प्रालिको सेयरधनी, सन्चालक र कम्पनीको अध्यक्ष जीतबहादुर मगर हो भनी इलेक्ट्रिकको नाममा रहेको बालुवाटार, सतुंगल, म्याग्दी र नुवाकोटको जग्गा बेचबिखन गरेर ठगी गरेको अनुसन्धानमा खुलेको जानकारी दिए ।
इलेक्ट्रिकका सन्चालक एवं अध्यक्ष रहेका जटियाको घरबाट सो कम्पनीको कागजात चोरी गरी जटियाको नाममा रहेको सेयर खरिद गरी कम्पनी रजिष्ट्रार कार्यालयका कर्मचारीसमेतको मिलेमतोमा आफ्नो बनाएर ठगी गरेका थिए ।
कम्पनी रजिष्ट्रार कार्यालयमा सहायक रजिष्टार पदमा कार्यरत् नारायणप्रसाद पोखरेल र उमेशमान जोशी तथा सोही कार्यालयमा आइटी शाखामा करारमा कार्यरत् दुई कर्मचारी भने फरार रहेको ब्यूरोले जनाएको छ ।
पक्राउ परेकालाई विद्युतीय अपराध, चोरी, ठगी तथा संगठित अपराधमा अनुसन्धान गरी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा पेस गरेको ब्यूरोले जनाएको छ ।
यात्री ठग्ने ७१ ट्याक्सी नियन्त्रणमा
महानगरीय ट्राफिक प्रहरी महाशाखाले बढी भाडा लिने ७१ ट्याक्सीलाई नियन्त्रणमा लिएको छ ।
महाशाखाले बिहीबार विशेष अभियान सन्चालन गरी उपत्यकामा भनेको स्थानमा जान नमान्ने, राज्यद्वारा तोकिएकोभन्दा बढी भाडा लिने, मिटरमा जान नमान्ने र मिटर बिगार्ने ७१ ट्याक्सीलाई नियन्त्रणमा लिएको हो ।
महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले बढी भाडा लिइ यात्रीलाई दुःख दिने ट्याक्सीका चालकलाई नियन्त्रणमा लिइएको जानकारी दिए ।
‘महाशाखामा ट्याक्सीले यात्रीलाई ठगेको गुनासो धेरै परेपछि विशेष अभियान सन्चालन गरेका हौं’–उनले भने ।
उनले यात्री ठग्ने ट्याक्सीलाई कारबाहीका लागि निरन्तर अभियान सन्चालन गर्ने बताए ।
महाशाखाले विशेष अभियान सन्चालनका लागि ८० ट्राफिक प्रहरी खटाएको छ ।
नियन्त्रणमा लिइएका ट्याक्सीलाई यातायात व्यवस्था विभागद्वारा प्रत्यायोजित अधिकार प्रयोग गरी रु तीन हजारसम्म जरिवाना गर्ने महाशाखाले जनाएको छ ।
यातायात व्यवस्था विभागकाअनुसार हाल काठमाडौं उपत्यकामा १० हजार ६४५ ट्याक्सी सन्चालनमा छन् । रासस
प्रतिक्रिया दिनुहोस्