३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


साङ्केतिक भाषामा रमेकी शिलु शर्माको अर्को कृति


2.041k
Shares

काठमाडौं । नेपाली साङ्केतिक भाषाको क्षेत्रमा शिलु शर्मा परिचित नाम हो । साङ्केतिक भाषा विज्ञका रुपमा सक्रिय शर्मा विभिन्न संचार माध्यम मार्फत पर्दामार्फत साङ्केतिक भाषाका माध्यमबाट बहिरा जगतलाई समाचार बुझाइरहेकी देखिन्छिन् । यसै सन्दर्भमा उनले ‘नेपाली साङ्केतिक भाषाको स्वरुप’ नामक पुस्तक ल्याएकी छिन् ।

विभिन्न सम्मेलन, गोष्ठी होस् वा बहिरा व्यक्तिलाई आवश्यकता परेको खण्डमा अस्पताल, प्रहरी कार्यालय, अदालत आदि ठाउँमा बहिरा व्यक्तिहरूका लागि दोभासे सेवा दिन पुग्छिन् । बहिराहरुलाई समाजको मूलधारसँग जोड्ने कर्ममा रहेकी शर्मा बहिराहरुसँग जोडिएका विषयमा अध्ययन र अनुसन्धान गर्न पनि उत्तिकै रुचि राख्छिन् ।

विगत दुई दशकदेखि शर्माले साङ्केतिक भाषाको क्षेत्रमा प्राज्ञिक कर्म गर्दै आइरहेकी छिन् । विसं २०६० मा नेपाली केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर तहका लागि ‘नेपाली साङ्केतिक भाषाको उद्भव, विकास र स्वरूप’ शीर्षकमा शोध कार्य गरेर त्यसलाई पुस्तकको आकार दिएकी थिइन् ।

शर्माले २०७४ मा राष्ट्रिय बहिरा महासंघ नेपालबाट प्रकाशित ‘नेपाली साङ्केतिक भाषाको शब्दकोश’ मा सह–लेखन समेत गरेकी थिइन् । २०७६ मा भाषाविज्ञान केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर तहका लागि शर्माले ‘नेपाली साङ्केतिक भाषाको समास’ शीर्षकमा शोध कार्य पनि गरेकी थिइन् ।

२०७८ मा नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित जर्नल ‘मातृभाषाको रुपरेखा भाग–२’ मा शर्माको ‘नेपाली साङ्केतिक भाषाको रुपरेखा’ शीर्षकमा लेख समेत प्रकाशित छ । साङ्केतिक भाषाप्रतिको यही लगाव र निरन्तरको कर्मले जगाएको हुटहुटीले होला,शर्माले गरेको अनुसन्धानमा आधारित पुस्तक ‘नेपाली साङ्केतिक भाषाको स्वरूप’ पुस्तकलाई नेपाल प्रज्ञा–प्रतिष्ठानले पाठक माझ ल्याएको छ । यस अध्ययनमा मुख्यत नेपाली साङ्केतिक भाषाको पृष्ठभूमिका साथै वर्ण व्यवस्था र व्याकरणिक संरचनाको विश्लेषण गरिएको छ ।

नेपाली साङ्केतिक भाषाको आफ्नै पहिचान छ । यस भाषाले आफ्नै मौलिकता बोकेको छ । नेपाली साङ्केतिक भाषाको विकास क्रमशः अगाडि पनि बढिरहेको छ । नेपालमा बोलिने १२५ भाषामध्ये साङ्केतिक भाषा पनि एउटा हो । यो भाषालाई बहिरा व्यक्तिहरूको संचारको माध्यमको एक महत्वपूर्ण हिस्साका रुपमा नेपालको संविधानले स्वीकार गरेको छ ।

तर, बहिरा समुदायको पहिलो भाषाको रुपमा रहेको नेपाली साङ्केतिक भाषाका विषयमा अध्ययन अनुसन्धानका कार्य भने निकै कम भएका छन् । प्रज्ञा–प्रतिष्ठानको भाषा९मातृभाषा,कोश र व्याकरण०विभागको परियोजनाअन्तर्गत शर्माले सम्पन्न गरेको यस कृतिबाट नेपाली साङ्केतिक भाषाका विभिन्न पक्षहरुबारे जानकारी पाउन सकिन्छ ।

नेपाली साङ्केतिक भाषा एउटा पृथक भाषा हो । २०६८ को जनगणना अनुसार बहिरा तथा सुस्तश्रवण व्यक्तिहरूको संख्या ७९ हजार ३०७ थियो भने २०७८ को जनगणना अनुसार बहिरा व्यक्तिको संख्या ५१ हजार ३७३ तथा सुस्तश्रवण व्यक्तिको संख्या ५१ हजार ५२० छ । राष्ट्रिय बहिरा महासङ्घ नेपालाका अनुसार यस भाषाको प्रयोग गर्ने नेपाली बहिरा समुदायका व्यक्ति वा यस भाषाको वक्ता संख्या झण्डै ३ लाखदेखि ५ लाखको हाराहारीमा रहेको छ ।

पुस्तकमा साङ्केतिक भाषामा स्टोकेइ–मोडेल,लिडेल–जोन्सन मोडेल,औँला हिज्जेदेखि यस भाषामा आएका परिवर्तन लगायतका विषयहरू समेटिएका छन् । यतिमात्र होइन,पुस्तकमा युवा बहिराहरुले चलनचल्तीमा ल्याएका साङ्केतिक शब्दहरूलाई पनि स्थान दिइएको छ ।

पुस्तकमा मुख्यत नेपाली साङ्केतिक भाषाको पृष्ठभूमिका साथै वर्ण व्यवस्था र व्याकरणिक संरचनाको विश्लेषण गरिएको छ । साङ्केतिक भाषाको पृष्ठभूमि,इतिहासका साथै यो भाषाको व्याकरणीय पक्षबारे जानकारी गराइएको छ ।‘नेपाली साङ्केतिक भाषाको व्याकरणबारे चर्चा गरिएतापनि सम्पूर्ण व्याकरण भने होइन,नेपाली साङ्केतिक भाषाको व्याकरणको थप अनुसन्धान गर्न बाँकी नै रहेको’ लेखक शर्मा बताउँछिन् ।

नेपाली साङ्केतिक भाषाका वर्ण,शब्द,वाक्य र संकथनका तहमा गहन अध्ययन र अनुसन्धानका क्षेत्रमा लाग्न भावी अध्ययन कर्ताका लागि यो पुस्तक उपयोगी बन्न सक्छ । पुस्तक विद्यालय स्तरमा नेपाली साङ्केतिक भाषाको शिक्षणका साथै यस क्षेत्रका अनुसन्धाता तथा अध्येताका लागि ठूलो आधार र उत्तिकै सहयोगी हुनसक्छ ।