काठमाडाैं । रोशी खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि शनिबार दिउँसोदेखि अवरुद्ध वीपी राजमार्ग खुलाउन समय लाग्ने भएको छ ।
साेही राजमार्ग शनिबारदेखि नै पूर्ण रूपमा अवरुद्ध भएकाे हाे । रोशी खोलाको बाढीले चौकीडाँडा, घुमाउने, चारसय बेँसी, गिम्दी बेँसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुङ्गा, डालाबेशी, ठूलोढुंगा तथा माम्ती, नेपालथोक र सिन्धुलीतर्फ आँपघारी क्षेत्रमा डाइभर्सन बगाएको छ । त्यसलगत्तै काभ्रेको मङ्गलटार, भकुण्डे, काभ्रेभञ्ज्याङ र धुलिखेल तथा सिन्धुलीको नेपालथोक र खुर्कोटमा गाडीलाई रोकिएको अर्थात् ‘होल्ड’ गरिएको थियो । रोकिएका गाडीलाई आइट्सुटबार रक्षित ठाउँमा पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेले बीच बाटोमै अलपत्र परेका यात्रुलाई पनि वैकल्पिक व्यवस्था गरी पठाउन थालिएको जनाएको हाे । मङ्गलटारसम्म यात्रु बोकेर आएका गाडीलाई त्यहाँ रोकेर यात्रुलाई पैदल हिँडाएर अर्को गाडीको व्यवस्था गरी तेमालको कालधार–नारायणस्थान–भकुण्डे हुँदै धुलिखेलतर्फ पठाइएको छ ।
डाइभर्सन बगाएको क्षेत्रमा मर्मतको काम भइरहेको छ । मौसममा सुधार आएपछि र डाइभर्सन मर्मतको काम सकेपछि मात्रै गाडीलाई आवतजावत खुला गरिने भएकाे हाे । सडकको अवस्थाकाे बारेमा जानकारी लिनुपरेमा नेपाल प्रहरीको १ सय र ट्राफिक प्रहरीको १ सय ३ नम्बरमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेकाे छ









प्रतिक्रिया दिनुहोस्