Logo २५ कार्तिक २०८२, मंगलबार | Tue Nov 11 2025


श्रीपञ्चमी शास्त्रीय संगीत उत्सव सम्पन्न


91
Shares

काठमाडाैं । ललितपुर महानगरपालिका वडा १६ का कलाकार समितिले लोक, शास्त्रीय संगीतमा समर्पित कलाकारहरुको प्रस्तुति समेटेर श्रीपञ्चमी शास्त्रीय संगीत नखः (उत्सव) आयोजना गरेको छ ।

श्रीपञ्चमीको अवसरमा पाटन दरबार क्षेत्रमा भएको सो समारोहमा कलाकार विशाखा शाक्यले महामञ्जुश्री चर्यानृत्य प्रस्तुत गरी आरम्भ गरेको हो । नेवार परम्परानुसार यस दिन पूजिने प्रमुख देवता महामञ्जुश्री हुन् ।

कार्यक्रमका सभापति १६ नम्बर वडाका वडा अध्यक्ष निर्मलरत्न शाक्यले स्वागत गर्नुहुँदै सांस्कृतिक, सांगीतिक क्षेत्रमा विभिन्न गतिविधिसाथ क्रियाशील वडाले शास्त्रीय संगीतमा समर्पित कलाकारको प्रस्तुति समेटी गरेको यो कार्यक्रम नयाँ आयाम भएको उल्लेख गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथि ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले अमूर्त सम्पदा संरक्षणमा १६ वडाको भूमिका नेतृत्वदायी रहेको उल्लेख गर्नुहुँदै मूर्त सम्पदामा धेरै ध्यान दिइरहेको महानगरपालिकाल अमूर्त सम्पदा क्षेत्रमा पनि उल्लेखनीय कदम चाल्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा संगीतको माध्यमबाट परिवर्तन संभव छ भन्ने विश्वासका साथ क्रियाशील “प्लइङ फर चेञ्ज नेपाल”का कलाकारहरु मीना प्रजापति, उषा तिवारी, भक्तबहादुर कार्की, सुमीत श्रेष्ठ, आषिश शाक्य, कृष्णदेवी महर्जन, सन्तु महर्जन र सविना महर्जनले सरस्वती वन्दना गाएका थिए भने नेपालभाषाको लोकप्रिय गीतहरु “सिरसाया हेकु” र “व छु गल्ली” समेटी भिन्तुना महर्जन, श्रीजन महर्जन, आगमन महर्जन, सुष्मा श्रेष्ठ, दिपेश तामाङ, निरञ्जना मानन्धर, पदम आले, भिदी क्षेत्री व आकाश तामाङले बाँसुरीको धून प्रस्तुत गरे । यस प्रस्तुतिमा मादलमा सीजन महर्जन, धिमेमा प्रतीक महर्जन, टेन्बुरिनमा रामचन्द्र भण्डारी, ताःमा समन महर्जन, गितारमा पेशन श्रेष्ठले साथ दिएका थिए ।

यसै समूहको सृजना लोकप्रिय गीत “सिरिसिरि फसं जितः”मा कलाकारहरु विपाशा महर्जन, अलोयाना डंगोल, सुकृति बज्राचार्य, दिपिका महर्जनले नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा दोश्रो सांगीतिक प्रस्तुतिका रुपमा वाद्य शिरोमणी गणेशलाल श्रेष्ठको नाममा स्थापित वाद्यशिरोमणी संगीत घरानाले राग वृन्दावणी सारंग प्रस्तुत गरेका थिए । यस प्रस्तुतिमा घरानाका नेतृत्वकर्ता शैलेन्द्र शाक्यले तबला वादन गरेका थिए भने युनिका बज्राचार्य, जोया महर्जन, स्वीकृति महर्जन, युस्ना महर्जन, रुपक महर्जन, अप्रिलशा महर्जन, आहाना महर्जन, निष्ठा अमात्य, शिक्षा श्रेष्ठ, रुजेन धाख्वा र निभाः बज्राचार्यले भ्वाइलिन वादन गरेका थिए ।

लोक संगीतको अभिलेखीकरण, संरक्षण तथा प्रचारका कार्यमा सक्रिय रहँदै आएको प्रोजेक्ट बाजा नेपालका सुरेशराज बज्राचार्यको सरोद वादन, मिलन तण्डुकारको बेला वादन तथा विपु श्रेष्ठ तबला, खिं वादनमा राग चारुकेशी प्रस्तुत गरेका थिए भने यही समूहमा विजय कायस्थको बबूचा (खलिमलि) वादनको साथमा सुरेशराज बज्राचार्यको श्रृजना “एराउन्ड द जंगल” प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सहभागी कलाकार समूहहरु तथा सहयोगी नेवाः सवाःलाई कृतज्ञता पत्र प्रदान गरिएको थियो भने नेवाः पत्रकार राष्ट्रिय दबू केन्द्रीय समिति र नेवाः देय् दबू ललितपुर शाखाको नवनिर्वाचित कार्यसमितिलाई शुभकामना पत्र प्रदान गरिएको थियो ।

प्रदेशसभा सांसद रामकृष्ण चित्रकारको समेत उपस्थिति रहेको कार्यक्रम कलाकार समितिका संयोजक सुरजवीर बज्राचार्य, सचिव अनुप शाक्य र कोषाध्यक्ष सलोना बज्राचार्यले संचालन गरेका थिए । समितिका सदस्यमा नील शाक्य, भूपेन्द्र बज्राचार्य, मोहिद्दिन खान, अमोघवीर बज्राचार्य, श्रुयति शाक्य, अमर चित्रकार, निशिला शाक्य, सिम्रन शाक्य रहेका छन् ।

समितिले वरिष्ठलाई सम्मान, यो पुस्ताका सक्रिय लोकप्रिय कलाकारलाई प्रोत्साहन तथा नवप्रतिभाको खोजी एवं प्रशिक्षित गर्ने कार्य गर्दै आएको छ भने सांस्कृतिक सांगीतिक (गायन, नृत्य, अभिनय) परम्परा निरन्तरताका लागि विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ ।