Logo ८ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 20 2026


तेह्रथुमको फेदापमा रहेको पर्यटकीय गन्तव्य मझौगुफा ओझेलमा


949
Shares

तेह्रथुम । तेह्रथुमका पर्यटकीय गन्तव्यहरु मध्येकाे फेदाप गाउँपालिकाकाे ओयाक्जुङमा रहेको धार्मिक तथा पर्यटकीय मझौगुफा पनि एक हो ।

मध्य पहाडी लोकमार्गबाट ५० मिटरको दूरीमा रहेको साेही गुफा ओझेलमा पर्दै गएको हाे । जिल्ला सदरमुकाम म्याङलुङदेखि करिब ४५ मिनेट सवारी साधानमा पुगिने यो गुफामा पर्यटकहरु खासै पुग्दैनन् । पर्यटकीय रुपमा प्रचुर सम्भावना रहेको यो गुफाको प्रचारप्रसार नहुँदा ओझेलमा पर्दै गएको छ । गुफामा पुग्नलाई सिडी निर्माण गरिएको भएपनि प्रवर्द्धनको खाँचो रहेकाे देखिएको छ ।

गुफालाई पर्यटकीय गन्तव्यको विकास गर्न स्थानीयवासीले वर्षेनी गुफाको नाममा माघेनी मेला समेत लगाउँदै आएका छन् । माघ १ गतेदखि ३ गतेसम्म विभिन्न प्रतियोगितासहित सांस्कृतिक कार्यक्रमहरु गर्दै आएपनि गुफाकाे प्रचारप्रसार नहुँदा अझै ओझेलमा पर्दै आएको छ। गुफामा प्राकृतिक र सुन्दर भएकाले गुफाभित्र छिरिसकेपछि छुट्टै अनुभूति भएको आन्तरिक पर्यटक मनिष खड्का,
राजिव खड्का र एलिना योगीले बताएका छन् ।

गुफाभित्र पर्यटक तथा दर्शनार्थीका लागि बिजुली बत्ती जडान गरी सहज बनाइएको छ। गुफामा पाठपूजा गर्दा मनोकांक्षा पूरा हुने विश्वास रहँदै आएको स्थानीयवासी कृष्णप्रसाद दुलालले बताउनुभयो। यो गुफा ७० मिटर लामो रहेको छ। गुफाभित्र दर्शनार्थीहरुकोले दर्शन गर्ने गरेका छन्। गुफालाई पर्यटकीय रुपमा विकास गर्न स्थानीय सरकारले जोड दिँदै आएको फेदाप गाउँपालिका अध्यक्ष केशव भेटुवालले बताउनुभयो।

साेही गाउँपालिकामा रहेको यि र यस्ता धार्मिक तथा पर्यटकीय गन्तव्यहरुलाई संरक्षण र प्रवर्द्धनको खाँचो रहेकाे देखिएको छ। भौतिक पूर्वाधारको विकास गर्दै गुफालाई प्रचारप्रसार गर्दै जाने हो भने जिल्लाकै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्नेमा दुईमत छैन ।