३ असार २०८२, मंगलबार | Wed Jun 18 2025


भारतीय ओभरलोड ट्रक विरूद्ध नेपाली ट्रक व्यवसायी आन्दोलित

सरकारले माग पूरा नगरे नाका ठप्प पार्ने व्यवसायीकाे चेतावनी

39
Shares

काठमाडौं । भारतीय ओभरलोड ट्रकका कारण व्यवसाय धराशायी हुने अवस्थामा पुगेको भन्दै नेपाली ट्रक व्यवसायीहरु आन्दोलित भएका छन् ।

विभिन्न ट्रक व्यवसायी संस्थाहरुले बेलहिया नाकामा विरोध प्रदर्शन गर्दै माग सम्बोधन नभएसम्म भन्सार नाका ठप्प पार्ने चेतावनी समेत दिएका हुन् । भारतीय ओभरलोडेड ट्रकका कारण नेपालतर्फ सडक र पुल लगायतका भौतिक संरचनाको क्षति मात्र नभई आफ्नो पेशा नै संकटमा पर्न थालेपछि आन्दोलनको विकल्प नभएको उनीहरुको भनाइ छ ।

नेपाल सरकारले भारतीय ओभरलोड गाडीहरु व्यवस्थापन नगरे व्यवसायी आफैंले भारतीय ट्रक रोकेर ओभरलोड सामान नेपाल छिर्न नदिने चेतावनी समेत दिएका छन् । नेपाल ट्रक व्यवसायी महासंघ लुम्बिनी प्रदेश समितिको अगुवाईमा पश्चिमाञ्चल यातायात व्यवसायी समिति, लुम्बिनी ट्रक यातायात व्यवसायी संघ, बाणगंगा यातायात व्यवसायी समिति, राप्ती अञ्चल संयुक्त ट्रक व्यवसायी संघ, लुम्बिनी साना तथा मझौला व्यवसायी समिति र ढुवानी व्यवसायी समितिले संयुक्त रुपमा भैरहवा भन्सार कार्यालय अगाडि विरोध सभा गरेका हुन् ।

नेपाल ट्रक यातायात व्यवसायी महासंघले सरकारी निकायका अधिकारीहरुको लापरबाहीका कारण ओभरलोड गाडीहरु निर्वाध रुपमा नेपाल भित्रिरहेको आरोप समेत लगाएकाे छ । बेलहिया नाका हुँदै प्रवेश गर्ने भारतीय गाडीको ओभरलोडलाई छुट दिंदा नेपाली ट्रक व्यवसायीहरु संकटमा परेको भन्दै महासंघले आपत्ति जनाएकाे छ ।

माग सम्बोधन नभए चरणवद्ध रूपमा आन्दोलन गर्ने ट्रक व्यवसायी संस्थाहरुले चेतावनी दिएका छन् ।