
काठमाडौं । लगातारको वर्षाले नारायणी नदीको बहाव उच्च भएपछि बाढी सुस्ता गाउँपालिकाको ५ नम्बर सुस्ता बस्तीमा पसेको छ ।
गण्डक बाँध अन्तर्गतको ठोक्कर नम्बर १ को बाँध फुटेर नारायणीको बाढी बस्तीमा पसेको हो । उक्त बाँध स्थानीय र सुरक्षाकर्मीले थुन्ने प्रयास गरिरहेका छन् । नारायणी नदीको पूर्वतर्फबाट थारु टोलमा बाढी पसेपछि सुस्ताका करिब ५० घर डुबानमा परेका छन् ।
नारायणी नदीको बहाव बढ्दो भएकाले बाढीको थप जोखिम रहेको भन्दै सुस्ताका स्थानीयलाई सुरक्षाकर्मीले सामुदायिक भवन र विद्यालयमा सुरक्षित स्थानमा राखेका छन् । पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले सुस्तामा रहेका सुरक्षाकर्मी र स्थानीयले जोखिममा रहेका स्थानीयलाई सुरक्षित स्थानमा राखेको र थप सहयोग पठाउन लागिएको जानकारी दिनुभयो ।
३ तर्फबाट नारायणी नदी र एकतर्फबाट भारतीय सीमाना रहेको सुस्ता बस्तीमा उद्धारका लागि पनि भारतीय भूमि हुँदै जानुपर्ने बाध्यता रहेकाे छ ।
प्रतिक्रिया दिनुहोस्