Logo २६ कार्तिक २०८२, बुधबार | Wed Nov 12 2025


उपचारका क्रममा बिरामीको मृत्यु भएपछि चितवन अस्पतालमा तोडफोड


533
Shares

काठमाडौं । उपचारका क्रममा बिरामीको मृत्यु भएपछि चितवन मेडिकल कलेज (सिएमसी) को भरतपुरमा रहेको शिक्षण अस्पतालमा मृतकका आफन्त तथा स्थानीयले तोडफोड गरेका छन् ।

भरतपुर महानगरपालिका–१३ का ३६ वर्षीय रमेश कुँवरको सोमबार साँझ सोही अस्पतालमा मृत्यु भएको थियो । कुँवरको प्याङ्क्रियाजमा समस्या भएर उपचारका लागि सोमबार बिहान ८ बजे अस्पतालमा भर्ना भएको प्रशासन प्रमुख प्रताप देवकोटाले बताउनुभयो ।

उनको स्वास्थ्य अवस्था जटिल हुँदै गएपछि विभिन्न अंगप्रत्यङ्गहरूले काम नगरेका कारण साेमबार साँझ मृत्यु भएको देवकोटाले बताउनुभयो । मृत्युको कारणका बारेमा आफन्तलाई साेमबार नै सबै जानकारी दिएपनि मंगलबार धेरै मानिसहरू अचानक आएर अस्पतालमा तोडफोड समेत गरेको उहाँले बताउनुभयो ।

मंगलबार दिउँसो साढे १ बजेतिर स्थानीय र आफन्त अस्पताल आएकाे उहाँले बताउनुभयाे । चिकित्सकले लापरबाही गरेका कारणले बिरामीको मृत्यु भएको भन्दै उनीहरूले आक्रोश पोखेका थिए । अस्पतालको तेस्रो तलामा रहेको मेडिकल आईसीयूमा तोडफोड भएको छ ।

घटनापछि प्रहरीले १३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ ।