Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


अध्यक्ष दाहालद्वारा आन्दोलनको घोषणा


38.5k
Shares

 काठमाडौं ।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन लगत्तै आफू सडक संघर्षमा जाने घोषणा गर्नु भएको छ ।

निर्वाचन प्रणाली र शासकीय प्रणाली बदल्दै मुलुकलाई रुपान्तरण गर्न आफू निर्वाचनपछि लगत्तै सडक संघर्षमा जाने उहाँको भनाई थियो । आईतबार काठमाडौंमा आयोजित ‘समाजवादको नेपाली मार्गचित्र’ विषयक विचार गोष्ठीमा उहाँले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षतामाथि प्रहार भएकाले आफू सबैभन्दा बढी छटपटीमा परेको र यसको निकासका लागि निर्वाचन लगत्तै आफू र आफ्नो नेतृत्वमा सडक आन्दोलनमा जाने योजना आफूले पार्टीभित्र तय गरिसकेको पनि बताउनु भयो ।

अध्यक्ष दाहालले समाजवादको यात्रालाई सुनिश्चित गर्नका लागि आफूले तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता गरेको तर त्यो टिक्न नसकेको पनि स्मरण गराउनु भयो । उहाँले एक वर्ष भित्र मुलुकमा आफू नेतृत्वको सडक संघर्ष हुने र त्यसले मुलुकमा विद्यमान शासन प्रणाली र निर्वाचन प्रणालीमा सुधार ल्याई राजनीति क्षेत्रमा देखिएका सबै विकृति र विसंगतिको अन्त्य हुने दावी समेत गर्नु भयो । त्यसका लागि कम्युनिष्ट पार्टीहरुबीच एकता गरेर अघि बढने अध्यक्ष दाहालको भनाई थियो ।

अध्यक्ष दाहालले संसद विघटन हुँदा भएको सडक आन्दोलनकै कारण त्यसको पुनस्र्थापना गर्न आफूहरु बाध्य भएको भनेर निलम्वित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले स्विकार गरेको स्मरण गराउँदै आफूहरु सोही आन्दोलनकै बाटोबाट अघि बढने पटकपटक दोहोर्‍याउनुभयो ।