Logo १७ माघ २०८२, शनिबार | Sat Jan 31 2026


गिरी सबैका लागि प्रेरणाको स्रोत : अध्यक्ष दाहाल


156
Shares

काठमाडौं । विभिन्न राजनीतिक पार्टीका नेताहरुले कांग्रेस नेता एवम् प्रतिनिधिसभाका सदस्य प्रदीप गिरीको निधनबाट मुलुकमा अपूरणीय क्षति भएको बताउनुभएको छ ।

आइतबार कांग्रेस केन्द्रिय कार्यालयमा राखिएको उहाँको पार्थिव शरिरमा श्रद्धाञ्जली अर्पण गर्न पुग्नु भएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, एमाले नेता भीमबहादुर रावल, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका नेता राजेन्द्र महतोलगायतका नेताहरुले प्रखर समाजवादी चिन्तक समेत रहनु भएका गिरीको निधन मुलुकका लागि ठूलो क्षति भएको बताउनुभएको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गिरीको बौद्धिक व्यक्तित्व र तर्कशीलता सबैका लागि प्रेरणाको स्रोत रहेको बताउनुभयो । उहाँले राजनीतिकलाई जनता र राष्ट्रको सेवा गर्ने माध्यामको रुपमा लिनुपर्ने कुरालाई पनि गिरीबाट प्रेरणा लिन सकिने बताउनुभयो । अध्यक्ष दाहालले गिरीको समाजवादी चिन्तनबाट सिकेर अघि बढनुको विकल्प नरहेको पनि स्पष्ट पार्नुभयो ।

नेकपा (एमाले)का नेता भिमबहादुर रावलले नेता गिरीलाई एउटा बौद्धिक र लोकतन्त्रका लागि निरन्तर संघर्षरत योद्धाको रुपमा नेपाली समाजले सम्झिरहने बताउनुभयो । कार्यकारी पद र प्रतिष्ठा नभएपनि नेताहरु सम्मानित हुन सक्छन भन्ने कुरापनि गिरीले पुष्टि गर्नु भएको उहाँले बताउनुभयो ।

लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका नेता राजेन्द्र महतोले स्वर्गीय नेता गिरीलाई देश र जनताप्रति समर्पित नेताको रुपमा चित्रण गर्नुभयो । गिरी सिद्धान्तनिष्ट र आर्दशवादी नेता भएको र उहाँको निधन मुलुकका लागि अपूरणीय क्षति भएको पनि उहाँले बताउनुभयो ।

नेता महतोले देश र जनताको हितका लागि कांग्रेस भित्रै पनि गिरीले पटक पटक बिद्रोह गरेको स्मरण गराउनुभयो ।