Logo २० माघ २०८२, मंगलबार | Tue Feb 3 2026


एसियाली खेलकुद स्थगित भए पनि खेलाडीको प्रशिक्षण निरन्तर हुन्छ : सदस्यसचिव घिसिङ


52
Shares

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले एसियाली खेलकुद स्थगित भए पनि खेलाडीको प्रशिक्षणलाई निरन्तरता दिने बताएका छन् ।

नेपाल स्ट्रेन्थलिफ्टिङ महासंघको आयोजनामा शनिबारबाट काठमाडौंमा सुरु प्रथम राष्ट्रिय खुल्ला स्टे«न्थलिफ्टिङ तथा इन्क्लाइन बेन्चप्रेस प्रतियोगिताको उद्घाटन गर्दै सदस्य सचिव घिसिङले जुनसुकै मितिमा एसियाली खेलकुद भए पनि नेपाली खेलाडी तयारी अवस्थामा रहुनपर्छ भनेर विशेष प्रशिक्षणलाई निरन्तरता दिने बताएका हुन् ।

राखेपको कर्भड हलमा दुई दिनसम्म चल्ने प्रतियोगिताको उद्घाटन पछि बोल्दै सदस्य सचिव घिसिङले खेलाडीमा स्ट्रेन्थ निकै आवश्यक भएको र राखेपले पहिलो पटक फिजिकल परीक्षण गरेको बताए ।

घिसिङले अहिले पनि एसियाली खेलकुदका लागि २३ वटा खेलको विशेष बन्द प्रशिक्षणहरू भइरहेको जानकारी गराउँदै नेपालमा स्ट्रेन्थलिफ्टिङ तथा इन्क्लाइन बेन्चप्रेसलाई अघि बढाउनका लागि राखेपले आवश्यक सहयोग गर्ने समेत घिसिङले थपे ।

पहिलो पटक काठमाडौंमा आयोजना हुन लागेको प्रतियोगितामा देशभरका ७५ भन्दा बढी खेलाडीले सहभागिता जनाएका छन् । प्रतियोगितामा महिला र पुरुष खेलाडीले तीन स्पर्धामा प्रतिस्पर्धा गर्दैछन् र विभिन्न तौल समूहले प्रतिस्पर्धा हुँदैछ ।

पहिलो दिनको खेलमा विभिन्न तौल समूहका खेल सम्पन्न भए । आयोजकले तौल उचालेको आधारमा आइतबार मात्र नतिजा घोषण गर्नेछ । तीनै स्पर्धाबाट समग्रको विजेताले किर्गिस्तानमा हुने विश्व च्याम्पियनसिपमा सहभागिता जनाउने आयोजकले जानकारी दियो । सहभागी खेलाडीलाई संघको आफ्नै खर्चमा सहभागी हुन पठाउनेछ ।

प्रतियोगितामा महिला तर्फ ५८ केजी, ६५ केजी र ६५ माथिको तौल समूहमा प्रतिस्पर्धा हुँदैछ भने पुरुष तर्फ ६ तौल समूहमा प्रतिस्पर्धा हुँदैछ । यस्तै मास्र्टस तर्फ ६५ केजी र ८५ केजी माथिको स्पर्धापमा प्रतिस्पर्धा हुँदैछ ।