Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


इलाममा विस्फोटक पदार्थसहित चन्दका कार्यकर्ता पक्राउ


0
Shares

अपडेट

इलाम, वैशाख २३ । जिल्ला प्रहरी कार्यालय इलामले विस्फोटक पदार्थसहित नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज र दुईजना कार्यकर्ता पक्राउ गरेको छ ।

जिल्लाको माई नगरपालिका–९, बोरुङबाट ठूलो परिमाणमा विस्फोटक पदार्थसहित चन्द समूहका जिल्ला इन्चार्ज पुष्प कोइराला र कार्यकर्ता ‘जनम’ भनिने पासाङ शेर्पा र सौरभ तामाङलाई पक्राउ गरेको हो ।

सोमबार राति करिब १२ बजे उनीहरुलाई घेराबन्दी गरेपछि गोली हानाहानसमेत भएको थियो ।

सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीमाथि गोली प्रहार भएपछि सशस्त्र प्रहरीले सात राउन्ड गोली चलाएको इलामका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेले जानकारी दिए ।

पक्राउ परेका कोइरालाको घर संखुवासभा भएको र पासाङको ताप्लेजुङ र सौरभको उदयपुर घर भएको बताइएको छ ।

उनीहरुको साथबाट डिटोनेटर १९ थान, प्रेसरकुकर बम एकथान, ग्रिनेड एकथान, टुकीबम एकथान, पाइपमा फिट गरिएको बम एकथान, डेथ कड ६७ फिट, बम विस्फोटमा प्रयोग हुने मिटर, रिमोट चारथान र विभिन्न प्रकारका विस्फोटक पदार्थ, चक्कु तथा दस्तावेजहरु फेला पारिएको छ ।