
काठमाडौं, साउन ३० । संरक्षित वन्यजन्तुका ३८ थान दाह्रा र ६ ओटा नंग्रासहित पाँचजना पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ओखलढुंगाको लिखुगाउँपालिका–९ का महेश राई, मिलन सुवेदी र प्रतिरोध सुवेदी तथा सोलुखुम्बुको दूधकुन्ड गाउँपालिका–९ का पूर्णबहादुर तामाङ र मोरङको कानेपोखरी गाउँपालिका–२ का श्रवण चौधरीलाई ती आखेटोपहारसहित पक्राउ गरेको हो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ तथा ‘साइटिस’ महासन्धि, १९७५ विरुद्ध अपराध गरेकाले उनीहरुलाई मंगलबार राजधानीको गैरीगाउँबाट पक्राउ गरिएको प्रवक्ता सानुराम भट्टराईले बताए ।
उनले अभियुक्तहरुलाई बुधबार डिभिजन वन कार्यालय काठमाडौंमा बुझाइएको जानकारी दिए । रासस
प्रतिक्रिया दिनुहोस्