
काठमाडौं । उत्तरपूर्वी भारतको मणिपुरमा पहिरोमा परी मृत्यु हुनेको संख्या २६ पुगेको छ ।
रेलवे निर्माणस्थलमा भारी वर्षाका कारण गएको पहिरोको भग्नावशेषबाट हालसम्म २६ जनाको शव निकालिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । पहिरोमा बेपत्ता भएका ३७ जना मध्ये २६ जनाको शव निकालिएको हो । ११ जना बेपत्ताको खोजी कार्य जारी छ ।
मृतकहरूमध्ये २१ जना प्रादेशिक सेनाका सदस्य र ५ जना सर्वसाधारण रहेको समाचारमा उल्लेख छ । वर्षासँगै पहिरो खस्ने क्रम जारी रहेकाले बेपत्ता भएकाकोे खोजी कार्यमा कठिनाइ भएको छ । मणिपुर राज्यको राजधानी इम्फाल नजिकैको शहर नोनीमा दुर्गम पहाडी क्षेत्रमा पहिरो गएको हो ।
यस क्षेत्रमा जातीय र जनजाति समूहका लागि छुट्टै मातृभूमिको खोजीमा दशकौं पुरानो सशस्त्र विद्रोहका कारण सेनाले रेलवे अधिकारीहरूलाई सुरक्षा प्रदान गर्दै आएको थियो । उद्धार कार्यमा भारतीय सेना, प्रहरी, उद्धारकर्तासहित बुलडोजर र अन्य उपकरणको प्रयोग गरिएको छ ।
भारी वर्षा भइरहेका कारण यस क्षेत्रमा थप पहिरोको जोखिम रहेको भन्दै चेतावनी पनि दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्