दीपक श्रेष्ठ र राजेन्द्र नापित (इमेज)
काठमाडौं, वैशाख १७ । ‘लकडाउन’को समयमा मानिसले विभिन्न किसिमका समस्या र तनाव भोग्नु परिरहेको छ ।
सकारात्मक काममा व्यस्त राख्न नसक्दा सामाजिक सञ्जालबाट पनि हिंसाका घटना बढ्न थालेको छ ।
लकडाउनका कारण अहिले मानिसहरु घरैमै बसिरहेका छन् । सामाजिक सञ्जाल समय कटाउने माध्यम बनेको छ ।
तर, बढ्दो प्रयोगसँगै सामाजिक सञ्जालको दुरुपयोग पनि बढ्न थालेको छ ।
लकडाउन लागू भएको चैत ११ गतेदेखि वैशाख १५ गतेसम्म ‘डिजिटल हिंसा’का १९९ उजुरी परेको प्रहरीको तथ्यांक छ ।
उजुरी परेकामध्ये ६ ओटा मुद्दा दर्ता भएकोमा बाँकीको अनुसन्धान भइरहेको महानगरीय प्रहरी कार्यालयका प्रमुख विश्वराज पोखरेलले बताए ।
लकडाउनको एक महिनाको अवधिमा प्रायः अश्लील तस्वीर जोडेको, भिडियो बनाएको र शब्द लेखेर पठाएका उजुरी परेको महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।
लकडाउनअघि प्रत्येक महिना डिजिटल हिंसाको औसत १४० उजुरी पर्ने गरेको थियो ।
यस्तै, केही दिनअघिमात्र चाइल्ड सेफ नेट नामक संस्थाले सातओटै प्रदेशमा गरेको अनलाइन सर्वेक्षणबाट जारी लकडाउन अवधिमा बालबालिकादेखि युवा वर्ग यौनशोषण र दुर्व्यवहारको जोखिममा रहेको तथ्यांक सार्वजनिक गरेको थियो ।
बढ्दो दुर्व्यववहार रोक्न सेवाप्रदायक कम्पनीदेखि प्रशासनले पहल गर्नुपर्ने संस्थाका अध्यक्ष अनिल रघुवंशीले बताए ।
कतिपय साइबर अपराधमा बालबालिका पनि संलग्न हुने गरेको पाइएको छ । सामाजिक सञ्जालको दुरुपयोग रोक्न पारिवारिक सजगताका साथै सरोकारवाला निकायहरु पनि थप सजग हुनु आवश्यक देखिन्छ ।








प्रतिक्रिया दिनुहोस्