
उपेन्द्र खनाल (इमेज)
तनहुँ, वैशाख १० । कोरोनाभाइरसका कारण नेपाल ‘लकडाउन’ भएपछि सबैभन्दा बढी डायलासिसका बिरामी मर्कामा परेका छन् ।
लकडाउनका कारण अस्पताल जान नपाउँदा उनीहरुलाई डायलासिस गराउन समस्या हुने गरेको छ ।
अत्यावश्यकबाहेक अन्य सवारी–साधन निषेध हुँदा दमौली अस्पताल परिसरमा रहेको शत्रुघ्न मन्जु डायलासिस युनिटमा डायलासिस गराउन आउने बिरामी मर्कामा परेका छन् ।
एम्बुलेन्सको पहुँच भएकालाई समस्या नभएपनि अन्यले भने निकै समस्या झेल्दै आएका छन् ।
जिल्लाभित्रका डायलासिसका बिरामी खासै मर्कामा नपरेपनि बाहिरी जिल्लाका बिरामीले भने निकै सास्ती खेप्नुपरेको छ ।
शत्रुघ्न मन्जु डायलासिस युनिटमा डायलासिस गराउन तनहुँका साथै गोरखा र लमजुङदेखिसमेत बिरामी आउँछन् ।
डायलासिस गराउन आउँदा निकै समस्या हुने गरेको बिरामीको गुनासो छ ।
लकडाउनका कारण डायलासिस गराउनुपर्ने बिरामीले सवारी–साधनसमेत पाउन सकेका छैनन् ।
विशेषगरी बाहिरी जिल्लाबाट आउने डायलासिसका बिरामीलाई समस्या भएको शत्रुघ्न मन्जु डायलासिस युनिटका इन्चार्ज शैलेश पण्डितको भनाइ छ ।
दमौली अस्पतालमा रहेको शत्रुघ्न मन्जु डायलासिस युनिटमा अहिले ६४ जना बिरामीले नियमित डायलासिस गराउँदै आएका छन् ।
राज्यले डायलासिस गराउन आउनेका लागि सहज वातावरण बनाउन सके बिरामीलाई थप मद्दत मिल्ने छ ।
प्रतिक्रिया दिनुहोस्