२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


धनगढी उपमहानगरमा श्रृंखलाबद्ध चोरीका घटना, प्रहरी सक्रियतामाथि प्रश्न


91
Shares

धनगढी । बिहीबार राति धनगढी उपमहानगरपालिका वडा नम्बर ४ सहिदगेट नजिक भट्ट होटल एण्ड फास्ट फुड्मा चोरी भयो । चेतराज भट्टले सञ्चालन गर्दै आएको उक्त होटलबाट २८ हजार नगद रुपैयाँसहित केही सामान चोरी भएको थियो । उनको होटलको पछाडिको सानो झ्यालबाट चोरी भएको हो । ‘गल्लामा २८ हजार चार सय रबर लगाएर राखेको थिए। बाँकी खुल्ला सय, ५०, १०, २० का नोट गनेको थिएन । ३-४ आइसी पनि थिए, त्यो रबर लगाएर राखेको थिए’ भट्टले भने, ‘चाबी खोलेको छ । उनीहरु बसेका पनि रहेछन्। चिसो र बियर(रक्सी) खाएका छन् ।’

उक्त पसलसहित सहिदगेट क्षेत्रका पाँच पसलबाट एकै राति चोरी भएको छ। चोरीमा संलग्नहरु ८ वटा पसलमा पसेका भए पनि पाँच पसलमा मात्र चोरी भएको छ । सबैभन्दा बढी अनिल गुरुङले सञ्चालन गरेको स्टिकर पसलबाट ५० हजार चोरी भएको छ। उनको पसलको पछाडिको भेन्टीलेशनबाट नै चोर भएको छ ।

यस्तै हिरासिँह साउँदले सञ्चालन गरेको रिलायन्स स्टिकरबाट १० हजार र अन्य पसलबाट सामानहरु चोरी भएका छन् । गंगा इम्पेक्सका सञ्चालन ईन्द्र भट्टले रातिको १२-१ बजेको समयमा चोरी भएको बताए। उनले भने, ‘पहिला मेरो पसलमा छिरेका जस्तो लाग्यो। मेरो पैसा राख्ने घर्रा भाँचेको छ । तर हामीले पैसा राखेका थिएनौं। चार-पाँच जोड लुगाहरु र सामान लगेका छन ।’ चार दिन पहिले मात्र धनगढी उपमहानगरपालिका वडा नम्बर १२ मा चोरी भएको थियो। वडा नम्बर १२ का रमेश तामाङको घरबाट फ्रिज लगायतका सामग्रहीहरु चोरी भएका हुन् । धनगढीको घुँइयाघाट क्षेत्रमा पनि चोरीका घटनाहरु हुँदै आएका धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष शेरबहादुर महराले बताए ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।