Logo २७ भाद्र २०८३, शनिबार | Sat Sep 12 2026


पाेखराका अविस्कार त्रिपाठी सानै उमेरमा उद्यमी

स्वदेशमै सम्भावना खोज्दै युवा उद्यमी

234
Shares

दीपक बन्जारा

काठमाडौं । नेपालका अधिकांश युवा वैदेशिक रोजगारी र उच्च शिक्षाका लागि विदेशिने क्रम दैनिक रुपमा बढिरहेकाे छ।

तर यसै भीड भन्दा फरक, कास्कीकाे पाेखरा महानगरपालिकाका २२ वर्षका युवा उद्यमी अविस्कार त्रिपाठी भने आफ्नै देशमा सम्भावनाको नयाँ बाटो पहिल्याउँदै अन्य १५ जना भन्दा बढी युवाहरूलाई रोजगारी दिइरहेका छन्। नेपालभित्रै केही गर्न सकिन्छ भन्ने दृढ सोच र संकल्पका साथ अघि बढेका त्रिपाठीले सानै उमेरमा व्यावसायिक क्षेत्रमा बलियो उपस्थिति जनाएका छन्। त्रिपाठी चिया पसल, ट्रेकिङ एजेन्सी, प्रोडक्सन हाउस र अन्य विभिन्न स्टार्टअपहरू सञ्चालन गर्दै आएका बहुप्रतिभाशाली युवा उद्यमी हुन्।

उद्यमशीलतासँगै त्रिपाठी एक सफल ट्राभल कन्टेन्ट क्रिएटरका रूपमा पनि परिचित छन्। उनले सञ्चालन गर्दै आएको फेसबुक तथा इन्स्टाग्राम पेज “Wonderful Nepal” (जसमा १ लाख ३० हजार भन्दा बढी फलोअर्स रहेका छन्) मार्फत नेपालका प्राकृतिक सौन्दर्य, संस्कृति र पर्यटकीय गन्तव्यहरूलाई विश्वमाझ प्रवर्द्धन गर्दै आएका हुन्।

देशका विभिन्न कुनाकाप्चा पुगेर त्रिपाठीले निर्माण गरेका दृश्य र सामाग्रीहरूले नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याइरहेका छन्। सानै उमेरमा स्वदेशमै रहेर देखाएको उनकाे यो व्यावसायिक सक्रियता र देशभक्तिको भावना हालका सम्पूर्ण युवा पुस्ताका लागि प्रेरणाको स्रोत बनेको हाे।

सही सोच, निरन्तरको परिश्रम र अठोट हुने हो भने नेपालमै राम्रा अवसरहरू सिर्जना गर्न सकिन्छ भन्ने सकारात्मक सन्देश त्रिपाठीको यो यात्राले दिएको छ।