३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


२८ किमि सडकमा लगाइयो चिह्न


0
Shares

काठमाडौं, वैशाख ४ । काठमाडौंका सडकहरुलाई चिटिक्क बनाउने काम भइरहेको छ ।

सडक व्यवस्थापनको अभिन्न अंग मानिने सडक चिह्न (मार्किङ) लगाउने काम भइरहेको छ ।

अहिलेसम्म जिल्लाभित्र कालोपत्र थपिएको (ओभर ले) झन्डै २८ किलोमिटर सडकमा चिह्न लगाएको डिभिजन सडक कार्यालय काठमाडौंले जनाएको छ ।

‘लकडाउन’का कारण सबै विकास निर्माण ठप्प हुँदा काठमाडौंका मुख्य र सहायक सडकमा चिह्न लगाइएको हो ।

ती सबै स्थानमा सामाजिक दूरी कायम गरेर काम भएको डिभिजन सडक कार्यालय काठमाडौंका प्रमुख कुबेर नेपालीले बताए ।

धेरै जनशक्ति र उपकरण नचाहिने हुँदा यो समयमा समेत काम गरिएको उनले बताए ।

उपत्यकामा बालुवाटार, रामशाह पथ, सुन्धारालगायतका धेरै स्थानमा सडकमा चिह्न लगाइएको छ ।

उनले भने–‘सामान्य अवस्थामा सवारी–साधनको चाप बढी हुने भएपनि अहिले सडक खाली हुँदा काम गर्न पनि सजिलो भयो ।’

सडकका दुवै लेनमा ‘ओभर ले’ भएका सडकमा मात्रै सडक चिह्न लगाइएको हो ।

काठमाडौं उपत्यकामा धेरै स्थानमा ‘ओभर ले’को काम ‘लकडाउन’का कारण ठप्प छन् ।

तीनकुने–गौशालालगायत एकातिर काम सकिएर अर्काे लेनतर्फ गर्न बाँकी रहेकाले त्यस्ता सडकमा भने चिह्न लगाइएको छैन ।

उनले भने–‘अर्काे लेनमा कालोपत्र गर्दा रङ जाने हुनाले अहिले नगरिएको हो ।’

‘लकडाउन’का समयमा सडक चिह्न लगाउने कामका कारण उपत्यकाका सडक चिटिक्क देखिएका छन् ।

एकातर्फ सवारी–सधानको चाप कम र अर्कातिर भर्खर कालोपत्र भएका सडकमा पोतिएका सडक चिह्नले उपत्यकाको मुहार नै फेरिएको छ ।

‘लकडाउन’मा काम गर्दा कतै अवरोध आउँछ कि भन्ने अन्योल भएपनि अहिले यो कामले धेरैको प्रशंसा पाइरहेको छ ।

सडक चिह्नका कारण यात्री र चालकसँगै ट्राफिक प्रहरीलाई समेत सडक व्यवस्थापन गर्न सजिलो हुने गरेको छ । रासस