२४ श्रावण २०८२, शनिबार | Sat Aug 9 2025


रेबिजले मृत्यु भएपछि गाउँमा भ्याक्सिन लगाउन शुरु


0
Shares

गोरखा, बैशाख ४ । गोरखाको शहिद लखन गाउँपालिका–६ रानागाउँका ६० जना स्थानीयवासीलाई रेबिज बिरुद्धको भ्याक्सिन लगाउन शुरु गरिएको छ ।

स्थानीयवासी खिलबहादुर थापाको कुकुरको टोकाईपछि रेबिज लागेर मृत्यु भएसँगै मृतकका परिवारसहित गाउँका अन्यलाई भ्याक्सिन लगाउन शुरु गरिएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख बिरेन्द्र श्रेष्ठले जानकारी दिए ।

गत पुसमा कुकुरले टोकेको तर उपचारमा हेलचक्राई गरेका थापामा एक्कासी ज्वरो आउने र काम्ने समस्या देखिएपछि उपचारका लागि चैत २७ गते गोरखा अस्पताल पुर्‍याइएको थियो ।

त्यहाँ उपचार हुन नसकेपछि  काठमाडौंको टेकु अस्पताल पठाइएको थियो । अस्पतालमा उपचारका क्रममा थापाको चैत २९ गते मृत्यु भएको थियो । “अस्पतालले थापाको मृत्यु रेबिजका कारण भएको पुष्टी गरेपछि मृतकका घरपरिवार र उहाँको सम्र्पकमा रहेका सबैको पहिचान गरी रेबिज बिरुद्धको भ्याक्सिन लगाउन थालिएको हो”, शाखा प्रमुख श्रेष्ठले भने, “पहिलो चरणमा चैत ३० गते ५२ जना र हिजो ८ जनालाई पहिलो चरणको भ्याक्सिन लगाइएको छ ।”

प्रमुख श्रेष्ठले टोलमा रेबिज रोग फैलन सक्ने जोखिमलाई ख्याल गरी थापाको परिवार, छरछिमेकी र मृत्यु संस्कारमा सहभागी सबैलाई भ्याक्सिन लगाउन शुरु गरिएको बताए ।

“उहाँहरु सबैलाई ३ चरणसम्म रेबिज बिरुद्धको भ्याक्सिन लगाउनुपर्छ”, उहाँले भन्नुभयो, “सबैलाई गाउँपालिकाको समन्वयमा निःशुल्करुपमा घरमै पुगेर भ्याक्सिन लगाउन शुरु  गरिएको छ ।”

गोरखाको सिरानचोक गाउँपालिकामा पनि एकसाता अघि रेबिज लागेर एक पुरुषको मृत्यु भएपछि गाउँका ४० जनालाई रेबिज बिरुद्धको भ्याक्सिन लगाउन थालिएको थियो । राासस