
भैरहवा, वैशाख ४ । रुपन्देहीमा ‘लकडाउन’को कारणले कुखुरा व्यवसायमा प्रत्यक्ष असर परेको छ ।
लकडाउनले यातायात ठप्प हुँदा रुपन्देहीका ब्रोइलर कुखुरापालक किसान मारमा परेका हुन् ।
४५ दिनभित्र बिक्री गरिसक्नुपर्ने कुखुरा ७० दिनको भइसक्दा पनि बिक्री गर्न नपाएको किसानहरूको गुनासो छ ।
रुपन्देहीमा हाल सात लाखभन्दा बढी कुखुरा बजार पुर्याउन नपाएर खोरमै थन्किएका छन् ।
रुपन्देहीका मर्चवार, छपिया, रोहिणी, देवदहलगायतका करिब दुई हजारभन्दा बढी कुखुरापालक कृषकहरु धरासायी हुने स्थिति सिर्जना भएको छ ।
रुपन्देहीमा एकजना किसानले २०० देखि तीन हजार ब्रोइलर कुखुरा पालिरहेका छन् ।
कुखुराको बजार नपाएपछि रुपन्देहीका कुखुरापालक किसानहरुको कुखुराको तौल घट्न थालेको छ । किसानले अहिले कुखुरालाई खुवाउन दानासमेत पाएका छैनन् ।
रुपन्देहीका कुखुरापालक किसान भारतबाट अवैधरुपमा भित्रिने चल्लाका कारण घाटा व्यहोर्दै आएकोमा अहिले लकडाउनका कारण धरासायी नै हुने स्थितिमा पुगेको बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्