२४ श्रावण २०८२, शनिबार | Sat Aug 9 2025


दाङमा कोरोना संक्रमणको जोखिम कम गर्न सेनिटाइजिङ टनेल, बिरामी पुग्ने बित्तिकै औषधि छर्कने व्यवस्था


0
Shares

-राकेश बस्नेत/ ईमेज 

दाङ । घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमणको जोखिम कम गर्न अटोमेटिक सेनिटाइजिङ टनेलको प्रयोग गरिएको छ ।

प्रतिष्ठानमा टनेलबाट अस्पताल प्रवेश गराउने र छुटै बाटोको प्रयोगबाट बाहिर निस्किने व्यवस्था मिलाइएको छ ।

दाङमा कोरोना संक्रमणको जोखिम कम गर्न सेनिटाइजिङ टनेलको स्थापना गरिएको छ ।

स्थानीय युवा वैज्ञानिक मार्सल रोकाको समूहले स्थानीयस्तरमै निर्माण गरेको यो टनेलले स्वचालित रुपमै सेजिटाइजर छर्किने काम गर्दछ ।

टनेल भित्र कुनै व्यक्ति पुग्ने बित्तिकै सेन्सरले थाहा पाउँछ र सेनिटाइजर छर्किन्छ । टनेल १० फिट लामो, ६ फिट चौडाई र ८ फिट उचाइको छ ।

टनेलले एक व्यक्ति बराबर ५० देखि ७० मिलिलिटर सेनिटाइजर छर्कने र दैनिक एक हजार मानिस प्रवेश गरेमा ८६ लिटर खपत हुने वैज्ञानिक रोकाले जानकारी दिए ।

सेनिटाइजरको सबै मापदण्ड जाँच गरेर मात्र प्रयोग गरिएको प्रतिष्ठानका कायम मुकायम रजिस्टार कैलाशप्रसाद देवले बताए ।

यसमा प्रयोग हुने सेनिटाइजर झोल विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार तयार गरिएको युवा वैज्ञानिक रोकाको दाबी छ ।

प्रतिष्ठानले रोकाको सहयोगमा करिव १ लाख ५० हजारको लागतमा स्यानिटाइजिङ टनेल तयार पारेको जनाएको छ ।

कोरोनाको संक्रमण नियन्त्रणमा सहयोग पुग्ने उद्धेश्यले टनेल निर्माण गरिएको सञ्चालक रबिन पोख्रेलले बताए ।

सेनिटाइिजिङ टनेलको सफल प्रयोग पछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना प्रयोगशाला समेत तयार भइसकेको छ ।

एक हप्ताभित्र उपकरण जडान गरी सेवा सुरु गर्ने प्रतिष्ठानले जनाएको छ ।