२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


तनहुँमा ३ सय ५८ जनाको कोरोना परिक्षण, सबैको रिपोर्ट नेगेटिभ


0
Shares

तनहुँ, बैशाख ३ । तनहुँमा विदेशबाट फर्किएर होम क्वारेन्टाइनमा बसेका तीन सय ५८ जनालाई र्‍यापिड परीक्षणमार्फत कोरोना भाइरसको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

सोमबार र मङ्गलबार कोरोनाको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको हो । ६ गाउँपालिका र ४ नगरपालिका गरी १० स्थानीय तहका ८५ वटै वडा वडामा आरडिटी किट पठाएर परीक्षण कार्यलाई तीब्र पारिएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए ।

“आरडिटी परीक्षणबाट बढीमा २० मिनेटमा रिर्पोट आउँछ”, उनले भने, “पोजिटिभ आए स्वाब सङ्कलन गरी क्षेत्रीय प्रयोगशाला पोखरामा पठाउने व्यवस्था मिलाइएको छ ।”

बिहीबार सम्ममा जिल्लामा र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी) किटबाट परीक्षण गर्ने कार्य सम्पन्न गर्ने लक्ष्यका साथ काम अघि बढाएको उनले बताए । जिल्लामा विभिन्न देशबाट घर फर्किनेको सङ्ख्या सात सय २५ रहेका छन् ।

शनिबार मात्रै छ सय ४२ थान किट आएपछि आइतबारदेखि परीक्षण कार्य अघि बढाइएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले जानकारी दिए ।

भारतलगायत अन्य विभिन्न देशबाट जिल्ला प्रवेश गरेका सबै व्यक्तिलाई आरडिटी किटबाट कोरोना परीक्षण गर्नेछ । उनले भने, “घरमा तथा स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा बसेर चौध दिन पुगेका र २१ दिन ननाघेका व्यक्तिको किटबाट परीक्षण गर्नेछ । रासस