
काठमाडौं, वैशाख २ । विदेशमा रहेका अधिकांश नेपालीले स्वदेश फर्कने इच्छा देखाएका छन् ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले गएको आइतबारदेखि सुरु गरेको २४ सै घन्टा ‘हेल्पलाइन’मा फोन गर्नेमध्येका ७७ प्रतिशतले मातृभूमि नेपाल फर्कन चाहेको र त्यसको लागि आवश्यक प्रबन्ध गरिदिन आग्रह गरेको संघले जनाएको छ ।
संघका महासचिव डा. हेमराज शर्माकाअनुसार संघमा प्राप्त फोनकलका आधारमा सबैभन्दा धेरै समस्या मध्यपूर्वका गैरआवासीय नेपालीमा रहेको देखिएको छ । त्यहाँ रहेका अधिकांश नेपालीले स्वदेश फर्कने चाहना राखेका छन् ।
हटलाइनमा प्राप्त सूचनाअनुसार ७७ प्रतिशत गैरआवासीय नेपालीले स्वदेश फर्कन चाहेका छन् भने ११ प्रतिशतले विदेश जानको लागि आवश्यक प्रक्रिया पूरा गरिदिन आग्रह गरेका छन् ।
अन्य समस्या हुनेमा १२ प्रतिशत गैरआवासीय नेपाली छन् ।
मध्यपूर्वमा धेरै नेपालीको जागिर छुटेको वा कम्पनीबाट राजीनामा दिएर नेपाल जानको लागि तयारी अवस्थामा रहेको देखिएको छ ।
महासचिव शर्माकाअनुसार गैरआवासीय नेपालीका बारेमा नेपालमा रहेका अभिभावकहरु धेरै चिन्तित देखिएका छन् ।
तीमध्ये धेरैले विदेशमा रहेका आफ्ना छोरा–छोरीलाई तत्काल नेपाल फर्काउन चाहेको र त्यसको लागि सहजीकरण गरिदिन संघसमक्ष आग्रह गरेका छन् ।
भारतको मुम्बई, हैदरावाद, नैनिताल, हरियाना, नयाँदिल्लीमा नेपालीको ठूलो समूह खान–बस्नसमेत नपाएर अलपत्र परेको संघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्