२४ श्रावण २०८२, शनिबार | Sat Aug 9 2025


स्वामित्व स्पष्ट नहुँदा सुर्खेतको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला बेवारिसे


0
Shares

-मानबहादुर वली/ईमेज

सुर्खेत । विभिन्न रोग निदानका लागि सुर्खेतमा निर्माण भएको प्रादेशिक जनस्वास्थ्य सेवा प्रयोगशाला अहिले बन्द छ ।

स्वास्थ्य मन्त्रालयले आफू मातहतको प्रयोगशालालाई प्रदेशमा हस्तान्तरण गरेको थियो ।

तर त्यसको चार महिनापछि कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकले खारेज गर्दा कोरोना भाइरसको जोखिम बढीरहेका बेला उक्त प्रयोगशालाको आवश्यकता खड्किएको छ ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा झण्डै एक करोड बढीको लागतमा भौतिक पूर्वाधार निर्माण गरिएको जनस्वास्थ्य सेवा प्रयोगशाला गत बैशाखमा उद्घाटन भएको थियो ।

संघीय सरकारले प्रदेशलाई हस्तान्तरण गरेसँगै प्रदेशकै मन्त्रीबाट प्रयोगशालाको उद्घाटन गरिएको थियो ।

प्रदेश सरकारले नै थप २० लाख रुपैयाँ खर्चिएको प्रयोगशाला उद्घाटनको चार महिनापछि प्रदेश मन्त्रिपरिषद् बैठकले सानो युनिट बनाएर स्वास्थ्य सेवा निर्देशनालयको मातहत राख्ने निर्णय ग¥यो ।

कोरोनाको संकट फैलिरहेका बेला प्रदेशमै भएको एक मात्र प्रयोगशाला आवश्यक पूर्वाधारसहित स्रोत साधनको व्यवस्था भए अहिले ल्याबका लागि अत्तालिनु नपर्ने प्रयोगशाला व्यवस्थापनका फोकल पर्सन ओम आचार्य बताउँछन् ।

नेपाल सरकारको स्वास्थ्य नीति २०७४ मा समेत प्रदेशमा जनस्वास्थ्य प्रयोगशाला हुने उल्लेख गरिएको छ ।

नीति तथा कार्यक्रमअनुसार प्रदेशमा स्थापना गरिएको स्वास्थ्य प्रयोगशालालाई प्रदेश सरकारको संगठन तथा व्यवस्थापन सर्भेले संरचना कटौति गर्ने भनिएपछि प्रयोगशाला खारेज गरिएको मन्त्रालयले जनाएको छ ।

अशिक्षा र गरिवीले पिल्सिएको कर्णालीमा बेलाबखत विभिन्न महामारी रोगहरु फैलिँदा कतिपय नागरिकको ज्यान जाने गरेको छ ।

प्रयोगशाला खारेज गरिएपनि अहिले त्यसको आवश्यकता महसुस भएको सामाजिक विकास मन्त्री दल रावलले बताए ।

एघारौँ तहका विशेषज्ञसहित १४ जनाको दरबन्दी रहेको प्रयोगशाला खारेज गरेपनि अहिले पुनःस्थापना गर्नुपर्ने प्रदेश सरकारले महसुस गरेको छ ।

प्रदेशमा भएको प्रयोगशाला सञ्चालन भए दक्ष जनशक्ति तयार हुने र विभिन्न रोगहरुको निदानमा काठमाडौंको भर पर्नु पर्ने स्थितिको अन्त्य हुने थियो ।