काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्ध जुध्न औषधि तथा उपकरण खरिदमा सघाउन चीन सरकारसँग अनुरोध गरेको छ ।
चीनका विदेशमन्त्री वाङ यीलाई टेलिफोन गरेर परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दुई देशका सरकारबीच औषधि तथा अन्य उपकरण खरिदमा सहयोग र समन्वयका निम्ति अनुरोध गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले अपनाएका उपाय तथा त्यसको द्रुत परीक्षणका लागि नेपालभर औषधि र उपकरणको व्यवस्था गर्नुपर्ने भएकाले सरकार–सरकार (जीटुजी) आधारमा औषधि, उपकरण खरिदमा सहयोग र सहजीकरण गर्न मन्त्री ज्ञवालीले आग्रह गरे ।
उनले चीनको वुहानबाट नेपाली विद्यार्थीलाई स्वदेश फर्काउन तथा चीनमा रहेका नेपालीको हेरविचार गरेकामा कृतज्ञता व्यक्त गर्नुका साथै चीनको केन्द्रीय सरकार, त्यहाँको प्रान्तीय सरकार, सामाजिक सङ्घ–सङ्गठन एवं परोपकारी संस्थाले नेपाललाई निरन्तर औषधि, उपकरण उपलब्ध गराएकामा त्यसको सराहना गरे ।
मन्त्री ज्ञवालीले नेपालमा रहेका चिनियाँ नागरिकको हित र हेरचाहमा पनि सरकारले ध्यान दिने प्रतिवद्धता जनाएको मन्त्रालयले जनाएको छ ।
छलफलमा दुवै देशका विदेशमन्त्रीले विद्यमान द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ तुल्याउनेबारेमा पनि विचारविमर्श गरेको बताइएको छ ।









प्रतिक्रिया दिनुहोस्