२४ श्रावण २०८२, शनिबार | Sat Aug 9 2025


‘र्‍यापिड टेस्ट किट’को विश्वसनीयतामाथि प्रश्न, के भन्छन् चिकित्सक ?


0
Shares

प्रज्ञा तिमल्सिना (इमेज)

काठमाडौं, वैशाख १ । सरकारले कोरोनाभाइरस परीक्षणको दायरा बढाएसँगै बिरामीको संख्या पनि बढ्न थालेको छ ।

तर, ‘र्‍यापिड टेस्ट’मा ‘नेगेटिभ’ देखिएको रिपोर्ट टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा भने ‘पोजिटिभ’ देखिने गरेको छ । जसका कारण ‘आरडीटी’ परीक्षणलाई लिएर शंका उत्पन भएको छ ।

वीरगन्जस्थित जामे मस्जिदमा बस्दै आएका तीनजना भारतीयमा आरडीटी परीक्षणको रिपोर्ट अस्पष्ट आएपछि पुनः टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा गत आइतबार कोरोना संक्रमण भेटियो ।

यस्तै, कैलालीकी ६० वर्षीया महिलाको आरडीटी परीक्षण पनि नेगेटिभ आएको रिपोर्ट टेकुमा परीक्षण गर्दा सोमबार कोरोना पोजिटिभ देखियो ।

सरकारले समुदायस्तरमा नै परीक्षणको दायरा बढाउने भन्दै प्रत्येक प्रदेशमा पाँच हजारको दरले आरडीटी किट पठाएको छ ।

तर, किटले बारम्बार नेगेटिभ देखाउने र टेकुमा दोहोर्‍याएर परीक्षण गर्दा पोजिटिभ देखिनुले किटको विश्वसनीयतामाथि नै प्रश्न उठेको हो ।

सरुवारोग विशेषज्ञ डा. अनुप सुवेदी ‘पीसीआर’ र आरडीटी परीक्षण नै संक्रमण भए/नभएको पत्ता लगाउने विधि भएता पनि पीसीआर परीक्षणले ५० देखि ८० प्रतिशतमात्र नतिजा देखाउन सक्ने र आरडीटीले त्योभन्दा कम नतिजा देखाउने हुँदा समुदायस्तरमा परीक्षण गराउँदा पीसीआर र आरडीटीलाई सँगै लैजानुपर्ने बताउँछन् ।

‘आरडीटीमा नेगेटिभ देखाउँदैमा कोरोना संक्रमण छैन भनेर ढुक्क भएर बस्ने अवस्था हुँदैन’ भन्दै डा. सुवेदीले ‘व्यक्ति–व्यक्तिको परीक्षण गर्दा आरडीटीको मात्र भरपर्न हुँदैन’–भने ।

जोखिम अझै बाँकी रहेकोले परीक्षणको दायरा बढाउँदै लैजानुपर्ने उनको सुझाव छ ।

क्षयरोगविरुद्ध दिइने ‘बीसीजी’ खोपका कारण नेपालमा कोरोनाभाइरसको संक्रमण कम रहेको भन्ने हल्ला फैलिएको भन्दै डा. सुवेदीले बीसीजी खोपका कारण कम देखिएको भनेर हल्ला फैलाउनसमेत नहुने बताए ।

‘लकडाउन’ भएको लामो समयपछि संक्रमितको संख्या बढ्दै गएकाले सरकारले निकै सजगरुपले परीक्षण भने बढाउनुपर्छ ।

नत्र नेगेटिभ देखिएका बिरामीलाई बेवास्ता गर्ने हो भने समुदायमा नै संक्रमण बढ्न सक्ने सम्भावना भने उच्च रहन्छ ।