
जाजरकोट, चैत २७ । होम क्वारेन्टाइन तथा क्वारेन्टाइनबाट जाजरकोट र रुकुम पश्चिमबाट ३८ जनाको स्वाब सङ्कलन गरी सुर्खेत पठाइएको छ ।
जाजरकोटको भेरी नगरपालिकामा भारत तथा तेस्रो मुलुकबाट आएका नौ जना र रुकुम पश्चिमका विभिन्न स्थानीय तहबाट २९ जनाको स्वाब परीक्षणका लागि सुर्खेत पठाइएको छ ।
रुकुम पश्चिमबाट स्वाब परीक्षणका लागि नमुना लिइएको दोस्रो पटक हो । पहिलो पटक दुई जनाको लिइएकामा दुवै नेगेटिभ रिपोर्ट आएको थियो । दोस्रो पटक कोरोना सङ्क्रमण परीक्षण गर्न जिल्लामा अहिलेसम्मकै बढी स्वाब सङ्कलन गरिएको छ ।
पछिल्लो तथ्याङ्कअनुसार जिल्लाका विभिन्न क्वारेन्टाइनबाट ५० भन्दाबढी मान्छे स्वाब परीक्षण नगरी घर गएका छन् । दुई हप्ता क्वारेन्टाइनमा बस्दा पनि स्वास्थ्य स्थिति सामान्य भएपछि घर पठाइएको स्थानीय तहले जनाएका छन् ।
सरकारले दोस्रो तथा तेस्रो देशबाट आएका सबैलाई स्वास्थ्य परीक्षण अनिवार्य गर्नुपर्ने भएकाले सोहीअनुसार सबैको स्वाब सङ्कलन गरी जाँचका लागि सुर्खेत पठाएको स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कृष्णबहादुुुर खत्रीले जानकारी दिए । रुकुम पश्चिम चौरजहारी नगरपालिकाले बनाएको आइसोलेसनमा एक जनालाई राखिएको छ । रासस
प्रतिक्रिया दिनुहोस्