७ श्रावण २०८२, बुधबार | Wed Jul 23 2025


बढ्दो आपराधिक घटना नियन्त्रणमा सरोकारवाला उदासिन (भिडियो)


0
Shares

काठमाडौं, साउन २७ । मुलुकमा पछिल्लो समय बलात्कार, अपहरण, हत्याजस्ता अपराधका घटना बढिरहेका छन् । तर, सामाजिक अपराध नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउनुपर्ने र अपराध नियन्त्रण गर्न अभियान सञ्चालन गर्नुपर्ने सांसदहरुले भने प्रभावकारी भूमिका निभाउन सकेका छैनन् । न त, सरकारले नै दिनप्रतिदिन बढ्दै गएका आपराधिक घटना नियन्त्रणमा ठोस कदम चाल्न सकेको छ ।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्या होस् वा काठमाडौंको काँडाघारीमा ११ बर्षीय बालक निशान खड्काको अपहरणपछि भएको हत्या होस् । यी र यस्तै प्रकृतिका सामाजिक अपराध नेपाली समाजमा बढ्दै गएका छन् । हत्या भएको एक महिना बित्नै लाग्दा पनि कञ्चनपुरकी १३ बर्षीया बालिका पन्तको हत्यामा संलग्नलाई सरकारले अझै कानुनी दायरामा ल्याउन सकेको छैन ।

यस्तै, भक्तपुरको काँडाघारीमा ११ वर्षीय बालकको हत्यामा संलग्न २ जनालाई प्रहरीले इन्काउण्टर गर्न त सफल भयो तर यो इन्काउण्टर अझै विवादित छ । सरकारले यो घटनाबारे अझै आधिकारीक धारणा सार्वजनिक गर्न सकेको छैन ।

समाजमा यस्ता अपराधिक घटना दिनप्रतिदिन बढ्दै गए पनि सांसदहरुले संसद्मा प्रभावकारी आवाज उठाउन सकेका छैनन् । प्रतिपक्ष दलका सांसद मीनबहादुर विश्वकर्माले पछिल्लो समय समाजमा बढ्दै गएका आपराधिक घटना नियन्त्रण गर्न सरकारलाई पटक–पटक ध्यानाकर्षण गराए पनि सरकार गम्भीर नभएको आरोप लगाए ।

सत्तारुढ दलका सांसदहरु भने प्रतिपक्षको आरोपप्रति सहमत छैनन् । सत्तारुढ दलका सांसदहरु समाजमा बढ्दै गएका आपराधिक घटना नियन्त्रण गर्न सरकार लागि परेको जिकिर गर्छन् । नेपाल कम्युनिष्ट पार्टीका सांसद नवराज सिलवालले जनअपेक्षा अनुसार आपराधिक घटना नियन्त्रणका लागि सरकारले तत्काल ठोस कदम चाल्नुपर्ने बताए ।

समाजमा हत्या, हिंसा र बलात्कार जस्ता सामाजिक अपराधहरु दिनप्रतिदिन बढ्दै गए पनि राज्य गम्भिर हुन सकिरहेको छैन । समयमै यस प्रकारका आपराधिक घटना नियन्त्रण नगरे समाजमा यसले भयावह रुप लिने खतरा बढ्दै गएको छ । यसकारण यो या त्यो बहाना नगरी सरकारले आपराधिक घटना नियन्त्रणका लागि परिणाममुखी ठोस कदम चाल्ने अब ढिला गर्नुहुँदैन ।

भिडियो रिपोर्ट हेर्नुहोस्