
नारायणगढ । स्थानीय निर्वाचनकै ‘इपिसेन्टर’ बनेको भरतपुरमा सत्तारूढ गठबन्धनले बिहीबार चुनावी सभा गरेको छ । भरतपुरको केन्द्रीय बस टर्मिनलमा आयोजित चुनावी सभाका वक्ता थिए, प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, जसपा कार्यकारिणी सदस्य एवं मन्त्री राजेन्द्र श्रेष्ठलगायत ।
मुलुकको ६ ओटा महानगरमध्ये सत्तारूढ गठबन्धनले नेपाली कांग्रेसलाई काठमाडौं, ललितपुर र विराटनगर, माओवादीलाई भरतपुर, एकीकृत समाजवादीलाई पोखरा र जसपालाई विराटनगर भागबन्डा गरेकोमा भरतपुर भने धेरैको चासो बनेको छ ।६ महानगरमा मुख्य प्रतिस्पर्धा सत्तारूढ गठबन्धन र एमालेबीच नै हुने भए पनि भरतपुरलाई दुवै पक्षले प्रतिष्ठाको विषय बनाएका छन् । भरतपुरलाई लिएर बढी चासो बढ्नुमा त्यहाँ माओवादी अध्यक्ष दाहालकी छोरी उम्मेद्वार बनेकी छन् । उनको हारजितलाई गठबन्धनकै भविष्यलाई समेत जोडेर हेरिएकाले भरतपुर स्थानीय निर्वाचनकै ‘इपिसेन्टर’ बनेको हो ।
त्यसैले त त्यहाँको चुनावी सभालाई सम्बोधन गर्न देउवा, दाहाल र नेपालसमेत पुगेका हुन् । भरतपुरमा आयोजित सभामा सम्बोधन गर्ने क्रममा शीर्ष नेताहरूले मुलुकभरकै ‘गठबन्धन’को भविष्य र उथलपुथल’दयगत चर्चा गर्ने क्रममा भरतपुरलाई भने बढी नै जोड दिएको देखियो । यतिसम्म कि शीर्ष नेताहरूले ‘भरतपुर हार्दा गठबन्धन हार्ने र जित्दा सिंगो गठबन्धन जित्ने’ भाषासमेत बोले । प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले गठबन्धनको निरन्तरता र रेणु दाहालको प्रशंसामा समय खर्चिंदा माओवादी अध्यक्ष दाहाल भने एमालेलाई जोडेर कांग्रेसलाई तर्साउनसमेत पछि परेनन् । उनले एमालेले आफूसँग एकता र तालमेलका कुरा गरेको खुलासा गरेर देउवालाई झस्काउन समेत भ्याए ।
यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्