२८ श्रावण २०८२, बुधबार | Wed Aug 13 2025


विज्ञको सुझावअनुसार नै कोभिड–१९ रोकथाम र नियन्त्रण : मन्त्री ढकाल


0
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले स्वास्थ्य क्षेत्रका विज्ञहरूको सल्लाह र सुझावअनुसार नै सरकारले कोरोना भाइरसको रोकथाम र नियन्त्रणको काम गरिरहेको बताएका छन् ।

जनस्वास्थ्यका विज्ञसँग मन्त्रालयमा भएको छलफलमा उनले सरकार विज्ञको सल्लाहअनुसार नै उच्च सतर्कता अपनाउँदै कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सरकार गम्भीर भएर काम गरिरहेको बताए ।

कोभिड–१९ को रोकथाम र नियन्त्रणको सरकारी प्रयासमा नागरिकको महत्वपूर्ण साथ रहेको भन्दै उहाँले चिकित्सक र स्वास्थ्यकर्मी दिएको साथको प्रशंसा गरे ।

मन्त्री ढकालले कोभिड–१९ का विरूद्ध नेपालले गरेको तयारीका बारेमा बिहीबार आफूले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को दक्षिण–पूर्वी एशियाली राष्ट्रहरुको सङ्गठनका सदस्य राष्ट्रबीच छलफल भएको समेत उल्लेख गरेको जानकारी गराउँदै उनले अहिलेसम्म विदेशबाट आएका व्यक्तिमा भन्दा बाहेकमा कोभिड–१९ नदेखिएको भन्दै ती व्यक्तिबाट अरूमा कोरोना सर्न नदिनका लागि काम भइरहेको बताए ।

उनले नेपाल र भारतको सीमामा रहेका नागरिकका लागि दुवै देशले क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउने विषयमा पनि काम भइरहेको जानकारी दिए ।

छलफलमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा भगवान कोइरालाले अर्बौं खर्च गरेर पनि हजारौँ मर्ने कि भोकै बसेर बाँच्ने भन्ने सन्दर्भमा नागरिकलाई सचेत गराउनुपर्ने बताए ।

उनले कोभिड–१९ को नमूना परीक्षण कम्तीमा दैनिक एक हजार जनाको गर्ने गरी अघि बढ्नुपर्ने बताए । उनले लकडाउनको समय लम्ब्याउनुपर्ने धारणा राखे । जनस्वास्थ्य विज्ञ डा अर्जुन कार्कीले जनस्वास्थ्यका दृष्टिकोणले सरकारले गरिरहेको काम राम्रो भएको भन्दै कोभिड–१९ संसारकै लागि नौलो भएकाले वैज्ञानिकसमेत अन्योलमा रहेको बताए ।

उनले कोभिड–१९ सङ्क्रमितमध्ये ८० प्रतिशतमा सामान्य मात्र लक्षण देखिएको भन्दै गम्भीर बनेर सामना गर्नुपर्ने बताए । छलफलमा मन्त्रालयका सचिव यादव कोइराला, प्रा डा शरद वन्त, डा दीपेन्द्ररमण सिंह, डा प्रदीप वैद्य, डा केदारप्रसाद बराललगायत विज्ञको उपस्थिति रहेको थियो । रासस