Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


एनआरएनए कोरियाले पठाउने किट नेपाल आउनेमा अझै अन्योल


0
Shares

-जीवन खत्री(रासस)

सोल । एनआरएनए कोरियाले कोरोना भाइरस परीक्षण गर्ने चार हजार किटसहित अन्य स्वास्थ्य सामग्री नेपाल पठाउने निर्णय गरेको छ । 

एक हप्ताअघि नै नेपाल पुगिसक्नुपर्ने उक्त किट विमान उडान प्रभावित हुँदा पठाउन समस्या भएको हो । यससँगै उक्त किट नेपाल कहिले पुग्छ भन्ने अन्योल अझै कायमै छ ।

एनआरएनए कोरियाले आज जानकारीपत्र जारी गर्दै नेपाल पठाउने भनिएको उक्त चार हजार किट २४ घण्टाभित्र नै सुरक्षितरूपमा भण्डारण गरिनुपर्ने अनिवार्य बाध्यता र विमान उडान तालिकाको अनिश्चितताका कारण खरिद गरिएको किट नेपाल पठाउन नसकिएको हुँदा सुरक्षितरूपमा उत्पादक कम्पनीमा नै भण्डारण गरिएको र कोरियन एअरको सउल–काठमाडौँ चार्टर्ड उडान तालिकाको निश्चिततासँगै यथाशक्य छिटो नेपाल सरकारसमक्ष हस्तान्तरण गरिने जनाएको छ ।

जानकारी पत्रअनुसार उक्त चार हजार किटबाहेक अन्य स्वास्थ्य सामग्री दुई हजार पिपीइ सेट, १० हजार एन–९५ मास्क, २० हजार सर्जिकल मास्क, दुई हजार नेपाल पुग्ने गलेस, दुई हजार प्रोटेक्टिङ भाइजर, १० हजार ग्लोब्स र ५०० थर्मोमिटरचाहिँ आजै चीनको ग्वान्जाउस्थित नेपाली महावाणिज्य दूतावासलाई जिम्मा लगाउने भएको छ ।

उक्त स्वास्थ्य सामग्री नेपाल एअरलाइन्सको विमान आगामी चार्टर्ड गरेका बखत नेपाल पुर्‍याइने छ । कोरिया सरकारले कोरियाबाट निर्यात गर्न बन्द गरेपछि उक्त स्वास्थ्य सामग्री चीनमै खरिद गरिएको हो ।

दुई हजार किट नेपाल पठाउने उद्देश्यका साथ एनआरएनए कोरियाले केही दिनअघि यहाँका नेपालीबाट प्रतिव्यक्ति एक किट सहयोगअभियान अन्तर्गत दुई दिनमै रु एक करोड ४० लाख बढी आर्थिक सहयोग गरेका थिए ।