२८ श्रावण २०८२, बुधबार | Wed Aug 13 2025


‘पोखरामा ‘पोजिटिभ रिपोर्ट’ आएको छैन’


0
Shares

काठमाडौं, चैत २१ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकाबाहिरका विभिन्न स्थानबाट कोरोनाभाइरस परीक्षण सुरु भएको जनाएको छ ।

मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’का क्रममा शुक्रबार प्रवक्ता डा. विकास देवकोटाले हेटौंडा, जनकपुर, सुर्खेत र धनगढीमा परीक्षण सुरु भएको जानकारी दिएका हुन् ।

डा. देवकोटाले बुटवलमा पनि परीक्षण सुरु गराउने तयारी भएको भन्दै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३९, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १७, सुर्खेतमा सात, धनगढीमा चार, जनकपुरमा पाँच र हेटौंडामा पाँचजनामा कोरोनाको परीक्षण भएको जानकारी दिए ।

पोखरामा ‘पोजिटिभ रिपोर्ट’ आएको छैन

पोखरामा एकजना व्यक्तिको ‘पोजिटिभ रिपोर्ट’ आएको भन्ने हल्ला सही नभएको भन्दै उनले शंकास्पद देखिएका केही नमुनाहरुमात्र टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिने जानकारी दिए ।

एक हजार २७७ जनामा कोरोना परीक्षण

यस्तै, हालसम्म देशभर एक हजार २७७ जनामा कोरोना परीक्षण गरिएको तथा १२० जनालाई ‘आइसोलेसन’मा राखेको जानकारी उनले दिए ।

यस्तै, मन्त्रालयले सुरु गरेको एपमा लक्षणहरु पठाउने पाँच हजार ६२६ जनामध्ये १०७ जनाको स्वास्थ्य परीक्षण गरिने पनि उनले जानकारी दिए ।

भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणमा रहेका ९६ जनाको स्वास्थ्य परीक्षण भएको तथा कैलाली र कञ्चनपुरमा ‘क्वारेन्टाइन’मा बसेका ९२ जनाको पनि स्वास्थ्य परीक्षण सुरु गराइने डा. देवकोटाले जानकारी दिए ।

भिडियो हेर्नोस्