७ श्रावण २०८२, बुधबार | Wed Jul 23 2025


चितवनमा ठूलो परिमाणमा लागुऔषधसहित पाँचजना पक्राउ


0
Shares

चितवन, साउन २६ । चितवन प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित पाँचजनालाई पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरी टोलीले भरतपुर महानगरपालिका–३, न्यूरोडबाट लागुऔषध कारोबारमा संलग्नहरुलाई पक्रेको हो ।

पक्राउ पर्नेहरुमा गैंडाकोटका किरण जिसी, भरतपुर–३ का वुद्धि गुरुङ, लागुऔषध सेवनकर्ता भनिएका भरतपुर–७, कृष्णपुरका २१ वर्षीय लालकृष्ण ढकाल, भरतपुर–२, क्षेत्रपुरका २६ वर्षीय सलिम मिया र खैरहनी नगरपालिका–१, ज्यामिरेका १९ वर्षीय अमृत आचार्य रहेका छन् ।

प्रहरीले शनिबार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो ।

उनीहरुका साथबाट ११५ एम्पुल डाइजेपाम, ११५ एम्पुल ब्युप्रिनर्फिन, ११५ एम्पुल फेनारगन, १५ सय ४५ ट्याबलेट नाइट्राजेपाम, ४८ क्याप्सुल स्पास्मो प्रोक्सिभन, ११ बोतल फेन्सिडिल र चार बोतल वाइरफसेरफ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए ।

ना२४प ११०० नम्बरको मोटरसाइकलमा सवार जिसी र गुरुङलाई चेकजाँचकाक्रममा लागुऔषधसहित पक्राउ गरिएको उनले बताए ।

उनीहरुले दिएको बयानका आधारमा सेवनकर्ता भनिएकाहरु पक्राउ परेका हुन् ।

पक्राउ परेकाहरुविरुद्ध लागुऔषध नियन्त्रण ऐन २०३३ अन्तर्गत् मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी नायब उपरीक्षक प्रभु ढकालले जानकारी दिए ।