२९ असार २०८२, आइतबार | Mon Jul 14 2025


आपूर्ति व्यवस्थामा समस्याको संकेत, सरकारले खोल्न सकेन सुपथ मूल्यका पसल


0
Shares

नारायणी लामिछाने र राजेन्द्र नापित (इमेज)

काठमाडौं, चैत १३ । ‘लकडाउन’को तेस्रो दिन हुँदा आपूर्ति व्यवस्थामा समस्या आउने संकेत देखिन थालेको छ ।

सरकारले खोल्ने भनिएका सुपथ मूल्य पसलहरु अझै खुल्न सकेका छैनन् भने दैनिक उपभोग्य सामग्री सर्वसाधारणसम्म पुग्न सकिरहेको छैन ।

गृह मन्त्रालयले भने जनताका घरघरमै आपूर्ति हुने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

अनलाइनमार्फत् अर्डर लिएर ‘डेलिभरी भ्यान’बाट घर–घरमै आपूर्ति गर्न गृहले भनेको हो ।

सरकारले पटक–पटक आपूर्ति व्यवस्थापन सहज बनाउने दाबी गर्दै आएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पटक–पटक ९ महिनालाई पुग्ने खाद्यान्न तथा नुन र तीन महिना बढीलाई पुग्ने दाल तथा तेलहनलगायतका वस्तु मौज्दात रहेको दाबी गर्दै आएको छ । तर, ती खाद्य सामग्री उपभोक्तासम्म भने पुग्न सकेका छैनन् ।

आपूर्ति व्यवस्थापन अस्तव्यस्त हुँदा उपभोक्ताले समस्या व्यहोर्नु परेको छ ।

सरकारले विभिन्न ठाउँमा सहुलियत दरका पसल खोल्ने भनेपनि बिहीबारसम्म त्यस्ता पसल खुल्न सकेका छैनन् ।

यता, साल्ट ट्रेडिङले आफूसँग पर्याप्त ग्यास, नुन, तेललगायतका सामग्री रहेको दाबी गर्न छाडेको छैन ।

ती सामग्री निश्चित सुरक्षा मापदण्डअनुसार नै बिक्री गरिरहेको दाबी पनि गरिएको छ ।

सरकारले बुधबार खाद्यवस्तुको सहज आपूर्तिका लागि खाद्य सामग्री पसल तथा खाद्य स्टोरहरु खुला राख्न निर्देशन दिएको थियो । तर, त्यस्ता पसलहरु अझैपनि खुल्न सकेका छैनन् ।

सरकारले समयमै आपूर्ति व्यवस्थापनमा प्रभावकारी हस्तक्षेप नगर्ने हो भने निकट भविष्यमै संकटको सामना गर्नुपर्ने हुनसक्छ ।

भिडियो हेर्नुहोस्