२९ असार २०८२, आइतबार | Mon Jul 14 2025


मोरङमा कृषि बिमा प्रभावकारी भएन, बिमाबारे किसान नै अनविज्ञ


0
Shares

– ध्रुव भट्टराई /ईमेज  

विराटनगर । व्यावसायिक रुपमा कृषि पेशा अँगालेका किसानलाई ७५ प्रतिशत अनुदानमा बाली बिमा गर्ने सरकारको नीति प्रभावकारी हुन सकेको छैन ।

मोरङका अधिकांश कृषकले बाली बिमामा सहभागिता नजनाउँदा बालीनालीमा पुगेको नोक्सानीको क्षतिपूर्ति हुन सकिरहेको छैन ।

कृषि पेशा अगाँलेकालाई बाली बिमामा ७५ प्रतिशत अनुदान दिने सरकारी नीति लागू भएको ६ वर्ष पूरा भइसकेको छ ।

उक्त बिमा गरेका किसानले क्षतिपूर्ति बापत ९० प्रतिशतसम्म राहत पाउँछन् ।

तर बिमासम्बन्धी कृषकलाई पर्याप्त जानकारी नहुनु तथा सहभागिता नै नजनाउँदा कृषिबाट हुने क्षतिको जोखिम कायमै छ ।

सरकारले पशुधन बिमा, पन्छी बिमा, बाली बिमा र माछामा बिमा योजना अघि सारेको छ ।

अन्य योजनामा किसानको सहभागिता भए पनि बाली बिमामा किसानहरुको सहभागिता अहिलेसम्म शुन्यको स्थिति छ ।

मोरङमा व्यक्तिगत तहबाट त्यसैगरी समूह बनाएर सहकारीको माध्यमबाट ठूलो मात्रामा तरकारी खेती समेत हुँदै आएको छ ।

बालीमा कीरा लाग्नेदेखि प्राकृतिक प्रकोपबाट खेती नष्ट भएकासम्म जोखिम न्यूनीकरण गर्न किसानले बिमा गर्नुपर्ने हुन्छ ।

तर अझै पनि धेरै किसानले आफ्ना बाली बिमाको बारेमा धेरै किसान अनविज्ञ छन् । कृषि बिमा गर्दा किसानहरुको लगानीको जोखिम कम हुने भए पनि यस सम्बन्धमा कृषकलाई पर्याप्त सुसूचित गर्न सकिएको छैन ।

तर सरकारी निकाय भने बिमा गर्नेहरुको संख्या बढ्ने क्रममा रहेको तथ्यांक देखाएर उम्किने गरेको छ ।

सरकारले ल्याएको बाली बिमामा किसानहरुको सहभागिता नहुँदा वर्षेनी सरकारले बाली बिमाका लागि छुटाएको करोडौं रुपैयाँ फ्रिज भएर जाने गरेको छ ।

सरकारले लक्षित किसानहरुलाई बिमामा सहभागी गराउन प्रोत्साहित गर्नुपर्ने देखिन्छ ।