Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


सेयरबजार १७ गतेसम्मका लागि बन्द


0
Shares

काठमाडौं, चैत १० । सेयरबजार १७ गतेसम्मका लागि बन्द गरिएको छ ।

‘कोरोनाभाइरस’को जोखिमको त्रास बढेसँगै धितोपत्र बोर्डको निर्देशनअनुसार नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सोमबारदेखि पाँच कार्यदिन अर्थात् चैत १७ गतेसम्मका लागि बजार बन्द गरिएको सूचना जारी गरेको हो ।

आइतबार नेपाल धितोपत्र बोर्डले सोमबारदेखि लागू हुनेगरी पाँच कारोबार दिनका लागि बजार बन्द गर्न नेप्सेलाई निर्देशन दिएको थियो ।

कोरोनाभाइरसको जोखिमको त्रासले गर्दा लगानीकर्ता तथा सदस्य दलालको धितोपत्र कारोबारमा सहभागिता घटदोक्रममा रहेको पाइएकोले भाइरसको जोखिमलाई न्यूनीकरण गरी लगानीकर्ता, सदस्य दलाल, कर्मचारी आदिको स्वास्थ्यलाई उच्च प्राथमिकता दिइ दोस्रो बजारमा हुने नयाँ कारोबार केही समयका लागि बन्द गर्न आवश्यक देखिएको बोर्डले जनाएको छ ।

आइतबार अनलाइन प्रणालीमा मात्र कारोबार हुँदा जम्मा १९ करोडको सेयर किनबेच भएको थियो । यसले गर्दा लगानीकर्ताहरुले बजार बन्द गर्न माग गर्दै आएका थिए ।

धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ९० उपदफा १ को खन्ड (घ) मा बोर्डको विशेष अधिकारअन्तर्गत् लगानीकर्ताको हितलाई ध्यानमा राखी बोर्डले धितोपत्र बजारसँग परामर्श गरी धितोपत्र बजार बन्द गर्न आदेश दिने सक्ने व्यवस्था रहेको छ ।

नेप्सेले बजार बन्द हुँदा पनि राफसाफ तथा फर्छ्योट गर्ने/गराउने कार्य भने जारी रहने पनि जनाएको छ ।