
काठमाडौं, चैत १० । नेपाल ट्रक यातायात व्यवसायी महासंघले ढुवानी सेवालाई निर्वाधरुपमा सञ्चालन गर्न सम्पूर्ण व्यवसायीलाई आग्रह गरेको छ ।
महासंघले विज्ञप्ति जारी गरी ढुवानी सेवा अत्यावश्यक सेवाअन्तर्गत् पर्ने भएकाले यसलाई निर्वाधरुपमा सञ्चालन गर्न व्यवसायीलाई आग्रह गरेको हो ।
गत शुक्रबार सरकारले आइतबारदेखि अत्यावश्यकबाहेक अरु सेवा सञ्चालनमा रोक लगाउने घोषणा गरेको थियो ।
महासंघका महासचिव राजेन्द्रविक्रम बानियाँले कोभिड–१९ (कोरोना भाइरस)को सम्भावित जोखिमविरुद्ध एकजुट हुँदै महासंघले आफ्नो तवरबाट सरकारलाई साथ र सहयोग गर्ने बताए ।
‘ढुवानी व्यवसाय पनि अत्यावश्यक सेवा हो, यसलाई निर्वाध ढंगले सञ्चालन गर्न व्यवसायीलाई आग्रह गर्दछौं’–उनले भने ।
महासंघले आफ्नो संस्थामा आबद्ध करिब ६५ हजार व्यवसायीलाई आपूर्ति व्यवस्थालाई सहज पार्नका लागि सबैसँग अनुरोधसमेत गरेको छ ।
राजधानीलगायत देशका हरेक क्षेत्रमा ढुवानी सहज बनाइ आवश्यक साथ र सहयोग गर्न महासंघ तल्लिन रहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्