Logo १ आश्विन २०८२, बुधबार | Wed Sep 17 2025


ऋण काढेर चिनी उद्योगलाई उखु, किसानले पाउनु पर्ने भुक्तानी भने अनिश्चित


0
Shares

प्रकाश मैनाली (इमेज)

सर्लाही, चैत ८ । सर्लाहीका उखु उत्पादक किसानले भुक्तानी पाउने अवस्था अनिश्चित भएको भन्दै गुनासो गरेका छन् ।

भुक्तानी लिन यस वर्ष पनि आन्दोलन नै गर्नुपर्ने अवस्था आएको उनीहरुले बताएका हुन् ।

खेतको उखु उद्योगमा लगेर बुझाएपनि किसानले भुक्तानी भने पाउन सकेका छैनन् ।

यस वर्षका लागि उखु क्रसिङ सकेर दुई हप्ताअघि नै बन्द भएको जिल्लाको महालक्ष्मी चिनी उद्योग बगदहले भुक्तानी अझैसम्म गरेको छैन ।

चिनी उद्योगबाट भुक्तानी नपाउँदा उखु काट्न र चिनी मिलसम्म उखु ढुवानी गर्दा लागेको खर्च तिर्नसमेत मुस्किल परेको किसानहरुको गुनासो छ ।

उखु बिक्री गरेको भुक्तानी लिन अघिल्ला वर्षहरुमा झैं यस वर्ष पनि आन्दोलन नै गर्नुपर्ने अवस्था आएको विष्णु गाउँपालिका–२, बारा उद्योगरणका किसान शशिभिषण सिंहले दुखेसो गरे ।

चिनी उद्योगले भुक्तानी नगर्दा कतिपय किसानले ऋण काढेरै भएपनि उखु काट्ने कामदारको ज्याला र उखु ढुवानीमा लागेको खर्च बुझाउन बाध्य भएका हुन् ।

सर्लाहीमा रहेको इन्दुशंकर चिनी उद्योग हरिवनले केही किसानको भुक्तानी गरेपनि महालक्ष्मी चिनी उद्योग बगदहले भने भुक्तानी गरेको छैन ।

उखु क्रसिङ सुरु गर्नुअघि महालक्ष्मीले यस वर्ष भुक्तानीमा आलटाल नगर्ने बताएपनि क्रसिङ सकेर उद्योग बन्द भएको दुई हप्तासम्म भुक्तानी दिन चासो नदिएको गोडैता नगरपालिका–११, सिसौटियाका किसान हरिदेव रायले गुनासो गरे ।

नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले भुक्तानी नै नगरी चिनी उद्योग बन्द गर्न थालेपछि उखु किसान निराश बन्नुपरेको बताए ।

यता, सर्लाहीको हरिवनमा रहेको इन्दुशंकर चिनी उद्योगले क्रसिङ सकेको भन्दै उखु उद्योग बन्द गरेको छ । जसकारण कृषकहरु थप निराश बन्न बाध्य भएका छन् ।