
काठमाडौं, चैत्र ७ । सरकारले कोरोना भाइरस संक्रमण फैलन नदिन स्वास्थ्य संस्थाहरुलाई आवाश्यक निर्देशन दिएको छ ।
स्वास्थ्यमन्त्री भानुभक्त ढकालको अध्यक्षतामा विहीबार बसेको बैठकपछि दिइएको निर्देशनमा काठमाडौंका ५० शैया भन्दामाथिका अस्पतालहरूलाई अत्यावश्यक बाहेकका परीक्षण र शल्यक्रिया नगर्न भनिएको छ ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि तत्काल गर्नुपर्ने १५ वटा निर्णय गर्दै सरकारले चैत मसान्तसम्मका लागि तत्काल नगरी नहुने बाहेकका स्वास्थ्य परीक्षण र शल्यक्रिया बन्द गर्न निर्देशन दिएको हो ।
निर्देशन पालना भए नभएको समेत अनुगमनसमेत गरिने भन्दै मन्त्रालयले कोरोना भाइरस समुदायमा फैलावटको अवस्था पत्ता लगाउन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई कम्तीमा २० हजार स्याम्पल टेष्टका लागि तयारी अवस्थामा राख्न निर्देशन दिएको छ ।
मन्त्रालयद्वारा जारी १५ बुँदे निर्देशनमा कोरोनाका शंकास्पद बिरामीलाई अन्य अस्पतालमा पठाउन नपाउने र प्राथमिकता दिएर उपचार गर्नुपर्ने उल्लेख छ । परीक्षण पोजेटिभ आएमा अरुलाई नसर्ने गरी आइसोलेसनमा राख्ने र सम्बन्धित अस्पतालमा पठाउने व्यवस्था गर्नुपर्ने उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्