२ भाद्र २०८२, सोमबार | Tue Aug 19 2025


चितवनमा ७२ घन्टाभित्र ‘कोरोना’ उपचार अस्पताल सञ्चालनमा ल्याइने


0
Shares

चितवन, चैत ४ । भरतपुर महानगरपालिका–१० मा रहेको चितवन प्रदर्शनी केन्द्रमा भरतपुर ‘कोरोना’ विशेष अस्पताल सञ्चालनमा ल्याइने भएको छ ।

भरतपुर महानगरको अगुवाइमा मंगलबार यहाँ सम्पन्न सरोकारवालाको बैठकले ७० शय्याको अस्पताल तत्काल निर्माण गर्ने निर्णय गरेको हो ।

बैठकले महानगरपालिका प्रमुख रेनु दाहाल संयोजक रहेको १५ सदस्यीय कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रण पूर्वतयारीका लागि कार्यदलसमेत गठन गरेको छ ।

कार्यदलमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, नेपाल चिकित्सक संघका केन्द्रीय उपाध्यक्ष डा. अनिलविक्रम कार्की, जिल्ला समन्वय समितिका प्रतिनिधि, जिल्लाका ठूला अस्पताल, निजी अस्पताल, उद्योग संघ र उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघका प्रतिनिधि सदस्य रहेका छन् ।

कार्यदलको सदस्यसचिवमा वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारी रहेका छन् ।

कार्यदलको मंगलबारै बसेको बैठकले १० शय्याको सघन उपचारकक्ष, १० शय्याको हाई डिपेन्डेन्ट युनिट (एचडियू) र ५० शय्याको सामान्य शय्या ७२ घन्टाभित्र निर्माण गरिसक्ने निर्णय गरेको छ ।

कार्यदलका सदस्यसचिव अधिकारीकाअनुसार अस्पताल सञ्चालनका लागि विभिन्न व्यक्ति र संस्थाहरुलाई कामको जिम्मेवारीसमेत दिइएको छ ।

अस्पतालको बहिरंग सेवा डा. अधिकारी र चिकित्सक संघका केन्द्रीय उपाध्यक्ष डा. अनिलविक्रम कार्कीले समन्वय गरी सञ्चालन गर्ने जिम्मेवारी बैठकले दिएको छ ।

यसैगरी, जनरल वार्ड बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्य, एचडियू सञ्चालन गर्न कलेज अफ मेडिकल साइन्सेस एवं निजी अस्पताल समन्वय समिति र सघन उपचारकक्षको जिम्मेवारी चितवन मेडिकल कलेजलाई दिइएको छ ।

जनशक्ति व्यवस्थापनका लागि भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारी र आवश्यक पूर्वाधारको व्यवस्थापनका लागि भरतपुर महानगरपालिका, जिल्ला समन्वय समिति, उद्योग वाणिज्य संघ चितवन र उद्योग संघ चितवनलाई बैठकले जिम्मेवारी दिएको छ ।

बैठकले प्रयोगशाला र रेडियोलोजी विभाग सञ्चालन गर्न निजी अस्पताल समन्वय समितिलाई जिम्मेवारी दिएको छ ।

कार्यदलका प्रवक्तासमेत रहेका अधिकारीकाअनुसार जिल्ला र बाहिरका अस्पताल एवं विभिन्न स्वास्थ्य परीक्षण गरिएका क्षेत्रमा भेटिएका शंकास्पद बिरामीलाई यस अस्पतालमा पठाइनेछ ।

तत्कालका लागि सरकारी र निजी अस्पतालमा रहेका ‘आइसोलेसन’कक्ष पनि सञ्चालनमा रहनेछन् ।

महानगर प्रमुख दाहालले रोग भित्रिन नदिन उच्च सतर्कता अपनाउने काम भइरहेको भन्दै रोग फैलिहालेमा पूर्वतयारीका लागि काम थालिएको बताइन् ।

सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने भन्दै उनले एकजुट भएर काम गरेमा रोग भित्रिन नपाउने र भित्रीहालेमा क्षति व्यहोर्नु नपर्ने बताइन् । रासस