
काठमाडौं, चैत ३ । ग्यास उद्योग संघ र बिक्रेता महासंघले नयाँ ग्यास सिलिन्डर बिक्री नगर्ने निर्णय गरेका छन् ।
उपभोक्ताहरुले अनावश्यक ग्यास सिलिन्डर सञ्चय गरेको भन्दै ग्यास उद्योगीहरुले नयाँ सिलिन्डर बिक्री नगर्ने निर्णय गरेका हुन् ।
मागअनुसार आपूर्ति भइरहेको र सहज आपूर्तिका लागि प्रतिबद्ध रहेको भन्दै अधिक सञ्चय नगर्न आम उपभोक्तामा अपिल पनि उद्योगी–व्यवसायीले गरेका छन् ।
ग्यासको आयात विगतको तुलनामा बढी नै भइरहँदा पनि उपभोक्ताहरुले अनावश्यक सञ्चय गर्दा बजारमा केही समस्या देखिएसँगै उक्त निर्णय गरेका हुन् ।
नेपाल एलपी ग्यास उद्योग संघ र ग्यास बिक्रेता महासंघ नेपालले सोमबार संयुक्त पत्रकार सम्मेलन गर्दै उपभोक्ताहरुसँग घरमा भएको सिलिन्डरलाई मात्र ग्यास दिन र नयाँ सिलिन्डर बिक्री–वितरण नगर्न/नगराउन सम्पूर्ण ग्यास उद्योगी र बिक्रेताहरुलाई सूचित गरेका हुन् ।
आम उपभोक्ताको हितलाई ध्यानमा राख्दै सरकार तथा सरोकारवाला निकायकाहरुको सहयोगमा आपूर्ति व्यवस्था सहज राख्न पनि दुवै संस्थाले प्रतिबद्धता व्यक्त गरेका छन् ।
संघका अध्यक्ष गोकुल भण्डारीले अहिले मुलुकमा मागभन्दा बढी ग्यास सिलिन्डर आयात भइरहेको र सहज आपूर्तिका लागि आफूहरु पनि प्रतिबद्ध रहेको भन्दै अति प्रज्ज्वलनशील पदार्थ सञ्चय गरेर जोखिम नमोल्न पनि सचेत गराए ।
डिलर प्रमाणीकरण, उपभोक्ता कार्ड लागू गर्नसके यस्तो समस्या नआउने पनि व्यवसायीले बताएका छन् ।
जुनसुकै सिलिन्डर साट्न भने कानुनीरुपले नै जटिल हुने भएकाले यो असम्भव भएको भण्डारीले उल्लेख गरे ।
यसअघि, आपूर्तिमन्त्री लेखराज भट्टले उद्योगी–व्यवसायीसँग छलफल गर्नेक्रममा जुनुसुकै कम्पनीको सिलिन्डर साटफेर गर्ने व्यवस्था मिलाउन र सहज आपूर्तिका लागि आग्रह गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्