४ भाद्र २०८२, बुधबार | Wed Aug 20 2025


भैरहवाको भीम अस्पताल उत्कृष्ट बनाउने तयारी, यस्तो छ गुरुयोजना


0
Shares

-दीपक घिमिरे/ ईमेज 

भैरहवा । भीम अस्पतालको पूर्वाधार तथा सेवासुविधामा सुधार हुने भएको छ ।

लामो समयसम्म सामान्य अवस्थामा सञ्चालित अस्पतालमा गुरुयोजना बनाएरै व्यापक सुधार गर्न थालिएपछि सेवाप्रवाह प्रभावकारी बन्ने भएको हो ।

वि.सं. १९९० सालमा तीन शैयाबाट स्थापित भैरहवाको भीम अस्पताल अहिले २५ शैयाको स्वीकृती लिएर सेवा प्रदान गर्दै आएको छ ।

शुरुमा ३ शैयाबाट शुरु भएको अस्पताल अहिले २५ शैयाको स्वीकृति लिएर ६८ शैयासम्मको सेवा प्रदान गरिरहेको हो ।

अस्पतालले हाल ओपिडी सेवा, आकस्मिक, अन्तरंगमा प्रसुती र सामान्य चिकित्सा सेवा, मातृ शिशु सेवा, प्रयोगशाला, एक्सरे, ईसिजी, डट्स उपचार, कृष्ठरोग उपचार सेवा, यूएसजी सेवा र एआरटी सेवा दिंदै आएको छ ।

जिल्लामै उत्कृष्ट स्वास्थ्य सेवासहितको सुविधा प्रदान गर्ने उद्देश्यले अस्पतालको नयाँ गुरुयोजना निर्माण गरिएको र एक महिनाभित्रै डिपीआर तयार गरिने अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट डा. नविन दर्नालको भनाइ छ ।

प्रदेश ५ सरकारले नयाँ गुरुयोजना स्वीकृत गरेसँगै अस्पतालको मुहार फेरिने भएको छ । गुरुयोजना अनुसार अस्पतालको मुख्य भवनमा एक सय बेड रहनेछन् ।

जसका लागि ३६ करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । अस्पतालमा आकस्मिक कक्ष, बच्चाहरुको लागि एनआइसियू, पेड्रियाट्रीक वार्ड, सर्जरी वार्ड, मेडिकल वार्ड लगायतका संरचना निर्माण गरिने छ ।

त्यस्तै अस्पतालको बाहिरपट्टी ल्याण्डस्केपमा पार्किङका साथै छुट्टै ग्रिनरी पार्क निर्माण गरिनेछ ।

त्यसै गरी पोष्टमार्टमका लागि छुट्टै गृह र स्टाफ क्वाटर पनि निर्माण गरिनेछ ।

रुपन्देहीसहित कपिलबस्तु, नवलपरासी तथा छिमेकी मुलुक भारत लगायतका ठाउँबाट उपचार गराउन आउने भीम अस्पताललाई जिल्लाकै उत्कृष्ट अस्पताल बनाउन लागिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एकराज बिश्वकर्माको भनाइ छ ।

अस्पतालको सेवासुविधामा व्यापक सुधार हुने भएपछि सेवाग्राही पनि उत्साहित भएका छन् ।