
काठमाडौं, साउन २४ । ‘गुन्डानाइके’को उपमा पाएका काभ्रेका गणेश लामा सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी प्रमाणित भएका छन् ।
बिहीबार विशेष अदालतले लामालाई एक वर्ष कैद र एक करोड ४० लाख ५० हजार रुपैयाँ जफत गर्ने फैसला गरेको हो ।
विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशहरु द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको इजलासले यस्तो फैसला सुनाएको हो ।
सम्पत्ति शुद्धीकरण विभागले नेपाली कांग्रेसबाट काभ्रे प्रदेशसभा क्षेत्र नम्बर–१ को ‘ख’का उम्मेदवार बनेका लामासँग रहेको २७ करोड एक लाख रुपैयाँको स्रोत नखुलेको भन्दै मुद्दा दायर गरेको थियो ।
सम्पत्ति शुद्धीकरण विभागले २०७० जेठ ६ गते लामासहित गुन्डानाइकेहरु परशुराम बस्नेत, अभिषेक गिरी, दीपक मनाङे र चक्रे मिलनविरुद्ध मुद्दा दायर गरेको थियो ।
तीमध्ये लामा हातहतियार तथा खरखजानासम्बन्धी मुद्दामा अहिलेपनि डिल्लीबजार कारागारमा छन् । उनी काठमाडौंको गौशलाबाट पेस्तोलसहित पक्राउ परेका थिए ।
लामा तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको केन्द्रीय सदस्यसमेत बनेका थिए ।
प्रतिक्रिया दिनुहोस्